यातायात कार्यालय नेपालगन्जको घुस काण्डः कर्मचारी, ट्राफिक र बिचौलियाविरुद्ध मुद्दा दायर



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा भ्र्रष्टाचार भएको सम्बन्धमा एकैदिन तीनवटा मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुस लिई परीक्षार्थीहरूलाई उत्तीर्ण गराउने गरेको, सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको र भारतीय चोरीका तीनवटा गाडी आर्थिक लेनदेन गरी दर्ता गरेको गरी फरक–फरक तीनवटा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूसँग सबै गरी कूल २६ करोड ७८ लाख बढीको बिगो दाबी गरेको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा भ्र्रष्टाचार भएको सम्बन्धमा एकैदिन तीनवटा मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुस लिई परीक्षार्थीहरूलाई उत्तीर्ण गराउने गरेको, सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको र भारतीय चोरीका तीनवटा गाडी आर्थिक लेनदेन गरी दर्ता गरेको गरी फरक–फरक तीनवटा मुद्दा दायर गरिएको हो ।

ती मुद्दामा यातायात व्यवस्था कार्यालय नेपालगन्जका कर्मचारीहरू प्रतिवादी छन् भने ट्राफिक प्रहरी, ड्राइभिङ प्रशिक्षण केन्द्र सञ्चालक तथा कर्मचारी र यातायात व्यवसायीहरू समेत छन् । यस्तै लुम्बिनी प्रदेश, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका कर्मचारीहरू समेत प्रतिवादी छन् । यातायात व्यवस्था कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी कर्मचारी र न्यू मामा भान्जा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक शरदकुमार गोराथोकी समेतका बिचौलियाहरू लगायतले मिलोमतो गरी सवारी चालक अनुमतिपत्र दिने काममा घुस लिने गरेको अख्तियारले मुद्दा विवरणमा उल्लेख गरेको छ ।

मुद्दामा हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका सचिव रहेका यातायात व्यवस्था कार्यालय नेपालगन्जका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार तीनवटै मुद्दामा प्रतिवादी छन् भने तत्कालीन अवस्थामा कार्यरत कर्मचारीहरू पनि प्रतिवादी बनाइएको छ । यसैगरी घुस लिई परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको मुद्दामा तत्कालीन कार्यालय प्रमुख रमेशकुमार बुढाथोकी पनि प्रतिवादी छन् ।

घुस लिई परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको मुद्दामा तत्कालीन निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ लेखा अधिकृत दिनेशसिंह ठाकुर, निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ शाखा अधिकृत रविन्द्र केसी, अधिकृत छैटौँ शक्ति ठाकुर, अधिकृत छैटौँ प्रेमप्रसाद उपाध्याय, कम्प्युटर अधिकृत छैटौँ मधुकरजंग शाह, अधिकृत छैटौँ नरभुपाल पौडेल, अधिकृत छैटौँ पूर्णमान वली, कम्प्युटर अधिकृत सतिषजङ्ग शाह, कम्प्युटर अधिकृतस्तर छैटौँ कृष्णबहादुर विक, अधिकृत छैटौँ काशिराम खत्री, अधिकृत छैटौँ बालकृष्ण चौधरीलाई प्रतिवादी बनाइएको छ ।

यसैगरी नायब सुब्बा चित्रबहादुर महतारा, नायब सुब्बा टोपबहादुर बयक, नायब सुब्बा गोपाल शर्मा, नायब सुब्बा मुकुन्दराज केसी पनि प्रतिवादी रहेका छन् । सोही मुद्दामा मेकानिकल सुपरभाइजर पुष्करराज शर्मा, मेकानिकल सुपरभाइजर सुशीलकुमार शर्मा, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, सहायक कम्प्युटर अपरेटर शर्मिला थापा, कार्यालय सहयोगी जयनारायण भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ ।

यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका तत्कालीन प्रहरी निरीक्षक पुष्करराज पन्त, प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दकुमार पोखरेल, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण आचार्य, प्रहरी सहायक निरीक्षक दमनबिक्रम सेनसमेत उक्त मुद्दामा प्रतिवादी छन् । अख्तियारले उनीहरूसँग सबै गरी कूल २६ करोड ७८ लाख बढीको बिगो दाबी गरेको छ ।

अख्तियारले घुस लिई परीक्षार्थीहरूलाई उत्तीर्ण गराउन मिलोमतो गरेको भन्दै ड्राइभिङ ट्रेनिङ्ग सेन्टरको सञ्चालकहरूलाई पनि प्रतिवादी बनाएको छ । जसमा न्यू मामा भान्जा मोटर ड्राइभिङ ट्रेनिङ्ग सेन्टरका सञ्चालक शरदकुमार गोराथोकी, न्यू स्वर्गद्धारी ड्राइभिङ्ग सेन्टरको प्रोप्राइटर चिरञ्जिवी पोख्रेल, रेसुङ्गा मोटर ड्राइभिङ्ग प्रशिक्षण केन्द्रको प्रोपाइटर माधव पोखरेल, शुभ स्वस्तिक ड्राइभिङ सुकुल प्रालिको प्रमोदकुमार देवकोटा, राजकुमार ड्राइभिङ सेन्टरको सञ्चालक सीता श्रेष्ठ प्रतिवादी रहेका छन् ।

यसैगरी, न्यू मामा भान्जा मोटरसाइकल रि–कन्डिसन हाउसको प्रतिनिधि मोतिकला भण्डारी, भेरी बस व्यवसायी प्रालिका प्रबन्धक सञ्चालक कृष्णप्रसाद सुवेदीसमेत उक्त मुद्दामा प्रतिवादी बनाइएका छन् । यसैगरी, सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरी गैरकानुनी लाभ हानी पु¥याउने बदनियतले गलत लिखत तयार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धानपश्चात् ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जसमा तत्कालीन कार्यालय प्रमुख सुनार, अधिकृत शक्ति ठाकुर, अधिकृत उपाध्याय, नायव सुब्बा केसी, कम्प्युटर अधिकृत सतिषजङ्ग शाह, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, नायब सुब्बा चित्रबहादुर महतारा, अधिकृत छैटौँ पूर्णमान वली प्रतिवादी छन् । यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्य, प्रहरी वरिष्ठ नायव निरीक्षक नन्दकुमार पोखरेल र न्यू मामा भाञ्जा मोटर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरका सञ्चालक शरदकुमार गोराथोकी पनि उक्त मुद्दामा प्रतिवादी छन् ।

भारतीय चोरीका तीनवटा गाडी आर्थिक लेनदेन गरी दर्ता गरेको उजुरीका सम्बन्धमा अनुसन्धानपश्चात् ३२ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।
जसमा तत्कालीन कार्यालय प्रमुख सुनार, वरिष्ठ लेखा अधिकृत दिनेशसिंह ठाकुर, अधिकृत छैटौँ नरभूपाल पौडेल, कम्प्युटर अधिकृत शक्ति ठाकुर, मेकानिकल सुपरभाइजर पुष्करराज शर्मा, मेकानिकल सुपरभाइजर शुसीलकुमार शर्मा, अधिकृतस्तर छैटौँ प्रेमप्रसाद उपाध्याय प्रतिवादी छन् ।

यस्तै अधिकृतस्तर छैटौँ काँशीलाल अधिकारी, वरिष्ठ शाखा अधिकृत रवीन्द्र केसी, अधिकृतस्तर छैटौँ मधुकरजंग शाह, नायब सुब्बा चित्रबहादुर महतारा, नायब सुब्बा गोपाल शर्मा, नायब सुब्बा मुकुन्दराज केसी, सहायक लेखापाल ओमराज गिरी, कम्प्युटर अपरेटर (करार) मनोज गिरी पनि उक्त मुद्दामा प्रतिवादी बनाइएका छन् ।

यसैगरी लुम्बिनी प्रदेश, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव उमेश ढुङ्गाना, उपसचिव रमेश गौतम, वरिष्ठ शाखा अधिकृत प्रदिप खनाल, मेकानिकल इन्जिनियर भरतकुमार कार्की, यातायात व्यवस्था कार्यालय साना ठूला सवारी, एकान्तकुना, ललितपुरका अधिकृत छैटौँ हरीबहादुर विष्ट, अधिकृत आठौँ प्रकाश अधिकारी समेतलाई प्रतिवादी बनाइएको छ ।

नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम असुल्ने गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले २०८१ साल चैत २७ गते केही कर्मचारी र उनीहरूले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित नियन्त्रणमा लिएको थियो । तत्पश्चात् अनुसन्धान गरेर अख्तियारले कर्मचारीदेखि बिचौलियमाथि मुद्दा दायर गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार