सुर्खेत ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशभर कूल १० लाख ३७ हजार २५० जना मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई आधार मानेर तयार पारिएको मतदाता नामावलीअनुसार प्रदेशका १० जिल्लामा ९४१ मतदानस्थल र १ हजार ४३७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्लागत तथ्यांकअनुसार सुर्खेतमा सबैभन्दा धेरै मतदाता छन् । भने डोल्पामा सबैभन्दा कम मतदाता सङ्ख्या रहेको छ । प्रदेश राजधानी सुर्खेत जिल्लामा सबैभन्दा बढी दुई लाख ४८ हजार ९४३ मतदाता रहेका छन् । यहाँ १४० मतदानस्थल र ३०२ मतदान केन्द्र कायम गरिएको छ।
त्यसैगरी डोल्पा जिल्लामा सबैभन्दा कम २४ हजार ११५ मतदाता रहेका छन् । त्यहाँ ६८ मतदानस्थल र ६८ मतदान केन्द्र तोकिएका छन् ।
दैलेखमा एक लाख ६१ हजार २०४ मतदाता रहेका छन्, भने १३९ मतदानस्थल र २०८ मतदान केन्द्र छन् । जाजरकोटमा एक लाख ७० हजार ९१ मतदाता र ८८ मतदानस्थल र १४६ मतदान केन्द्र छन् । यस्तै सल्यानमा एक लाख ६२ हजार ४४९ मतदाता, ११७ मतदानस्थल र २०५ मतदान केन्द्र छन् । रूकुम (पश्चिम भाग)मा एक लाख ६ हजार ६६० मतदाता, ७६ मतदानस्थल र १४० मतदान केन्द्र निर्धारण गरिएको छ ।
कालीकोटमा ८४ हजार ६४६ मतदाता, १०३ मतदानस्थल र १२७ मतदान केन्द्र छन् । त्यस्तै जुम्लामा ७१ हजार ७३९ मतदाता, ८३ मतदानस्थल र १०८ मतदान केन्द्र छन् । मुगुमा ३६ हजार ६१ म्तदाता, ६७ मतदानस्थल र ६९ मतदान केन्द्र छन् भने हुम्लामा ३४ हजार ३२७ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र छन् ।
प्रदेशभर पुरुष मतदाता पाँच लाख २७ हजार ६८६ र महिला मतदाता पाँच लाख ९ हजार ३६१ र अन्य तीनजना रहेका छन् । निर्वाचन कार्यालयका अनुसार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा, जनशक्ति परिचालन र मतदान व्यवस्थापनका तयारी तीव्र बनाइएको छ । प्रदेशका दुर्गम जिल्लामा सामग्री ढुवानी र सुरक्षाको विशेष व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
यस पटकको निर्वाचनमा देशभर मतदाता सहभागिता बढाउने लक्ष्य राखिएको छ भने कर्णालीमा मतदाता शिक्षा कार्यक्रमसमेत तीव्र पारिएको छ । निर्वाचन नजिकिँदै जाँदा कर्णाली प्रदेशमा मतदाता गाउँ नफर्किने चिन्ता पनि बढेको छ । रोजगारी, अध्ययन तथा अन्य कारणले जिल्लाबाहिर तथा भारत लगायतका मुलुकमा रहेका मतदाता मतदानका लागि घर नआउने हो कि भन्ने आशंका उम्मेदवार र सरोकारवालाले व्यक्त गरेका छन् ।
कर्णालीका १२ निर्वाचन क्षेत्रबाट १३२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । दल तथा स्वतन्त्र उम्मेदवारहरू घरदैलो, कोणसभा, टोलभेला र सामाजिक सञ्जालमार्फत मतदाता रिझाउने अभियानमा सक्रिय छन् । तर उम्मेदवारहरूका अनुसार कर्णालीका अधिकांश घरपरिवारमा कम्तीमा एक सदस्य रोजगारीका लागि बाहिर रहेको अवस्था छ । ठूलो सङ्ख्यामा युवा भारत तथा अन्य सहरतर्फ गएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार वैदेशिक तथा मौसमी रोजगारी कर्णालीमा सामान्य अभ्यासजस्तै बनिसकेको छ । यदि बाहिर रहेका मतदाता नफर्किए कम प्रतिशतमा मत खस्ने आकलन गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूले पनि बाहिर रहेका मतदातालाई समयमै गाउँ फर्कन आह्वान गरिरहेका छन् ।
यसैबीच भारतका विभिन्न सहर तथा चीनको ताक्लाकोट पुगेका हुम्लाका मतदाताले पनि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँ फर्किने चासो देखाएका छैनन् भने लिमी नाका बन्द भएका कारण मतदाता गाउँ पुग्नै सकस छ । रोजगारी तथा कामको सिलसिलामा त्यहाँ पुगेका मतदाता समयमै जिल्ला नफर्किने चिन्ता व्यक्त हुन थालेको अदानचुली गाउँपालिका–४ का हिक्मत सिंहले बताए ।
उनका अनुसार आफ्नो गाउँपालिकाका ६ वटै वडाबाट गरी एक हजार ६ सयभन्दा बढी बेरोजगार युवायुवती भारतका विभिन्न सहरमा काम गर्न गएका छन् । हालसम्म उनीहरू नफर्किएकाले निर्वाचनमा मतदान गर्न नपाउने अवस्था सिर्जना भएको उनी बताउँछन् । हुम्लाका सातमध्ये पाँच गाउँपालिकाबाट करिब तीन हजार बढी मतदाता भारत र चीनको ताक्लाकोटमा रोजगारीका लागि रहेका कारण उनीहरू नफर्किने चिन्ता छ ।
ठूलो सङ्ख्यामा मतदाता बाहिर रहनु राम्रो संकेत नभएको उम्मेदवारहरको भनाइ छ । एक मतले पनि परिणाम बदल्न सक्ने भन्दै त्यसैले मतदानका लागि समय मिलाएर घर फर्कन सुर्खेत–२ का उम्मेदवार रमेशकुमार सापकोटाले आग्रह गरे । अन्य उम्मेदवारहरूले पनि विभिन्न माध्ययमबाट मतदातालाई समयमै गाउँ फर्किन सन्देश पठाएका छन् ।
विशेषगरी कर्णालीका हिमाली तथा दुर्गम जिल्लाबाट ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौँ लगायतका सहरमा बसोबास गर्दै आएका छन् । उनीहरूलाई लक्षित गर्दै उम्मेदवारहरूले सामाजिक सञ्जाल, घरदैलो अभियान र अन्तक्र्रिया कार्यक्रममार्फत गाउँ फर्कन अनुरोध गरिरहेका हुन् ।









प्रतिक्रिया दिनुहोस्