देश चौतर्फी संकटमा छः अध्यक्ष यादव



नेपालगन्ज ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले देश चौतर्फी संकटमा रहेको बताएका छन् । मंगलबार बाँकेको डुडुवा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले अहिले देशमा राजनीतिक, आर्थिक, सामाजिक, नैतिक र परस्पर विश्वासको संकट व्याप्त रहेको बताएका हुन् । उनले अहिलेको स्थिति आउनुका पछाडि काँग्रेस र कम्युनिस्टहरू जिम्मेवार रहेको पनि आरोप लगाए ।

आफ्नो सम्बोधनको अधिकांश समय काँग्रेस र एमालेको आलोचनामा खर्चिएका यादवको आलोचनाको केन्द्रमा केपी ओली र उनले विगतमा मधेशमा आन्दोलन भएका बेला दिएका अभिव्यक्तिहरू थिए । उनले विगतमा केपी ओलीले मधेश आन्दोलनमा सहादत पाएकाहरूलाई झरेर जाने आँप र माखेसाङ्लोजस्ता अभिव्यक्ति दिएर असहिष्णु व्यवहार देखाएको स्मरण गराउँदै अहिले उनको पार्टीबाट मत माग्न आउनेहरूलाई मत दिँदा ख्याल गर्न आग्रह गरेका थिए ।

उनले आफूहरूले उठाउँदै आएका संविधान संशोधनका मुद्दा नै लिएर संसद्मा जाने र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र, मधेश स्वायत्त प्रदेश, पश्चिम नेपालका तरार्ईका जिल्लाहरूलाई अलग्गै प्रदेश बनाउने लगायतका व्यवस्थाका लागि संविधान संशोधन गर्न संसद्मा आवाज उठाउने उनले दाबी गरे ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, निर्वाचन प्रणाली सुधार, न्यायालय सुधार लगायतका विषयका लागि संविधान संशोधनको मुद्दा जसपाले उठाएको बताए । कार्यक्रममा जसपा नेपालबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्धिन राईले विगतमा जितेर गएकाहरूले झुट र भ्रमको खेती गरिरहेको आरोप लगाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार