अहिले निर्वाचनको महायज्ञमा छौँ । यहाँ हार र जितको लडाइँ भइरहेको छ । भोटबाट शासन व्यवस्था बदल्ने हाम्रो एकमात्र अठोट रहेको छ । अहिलेको जनताले चाहेको भनेको सुशासन र भ्रष्टाचार अन्त्य रहेको छ । यो देश परिवर्तन हुनुपर्छ भन्ने उहाँहरूको चाहना छ । हामी त्यसका लागि भोट मागिरहेका छौँ ।
सुरेशकुमार चौधरी,बाँके निर्वाचन क्षेत्र नम्बर १ रास्वपा उम्मेदवार
चुनावी तयारी कसरी भइरहेको छ ?
चुनाव नजिकिँदैछ । हाम्रो व्यवस्ता पनि बढ्दो छ । खासगरी चुनाव प्रचारप्रसारको क्रममा अहिले हामी निर्वाचन क्षेत्रको दौडाहामा छौँ । सोहीअनुसार सिंगो पार्टीपंक्ति चुनाव प्रचारप्रसारका साथै मतदाता भेटघाटमा लागिरहेको छ । पहिलो चरणको प्रचारप्रसार सकाएर दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारमा हामी घनीभूत ढंगले लागिरहेका छौँ । जनताहरूले हामीलाई न्यानो स्वागत गर्नु भएको छ । हामी उहाँहरूसँग आफ्ना कुरा राखिरहेका छौँ । भोटसमेत मागिरहेका छौँ । समग्रमा भन्नुपर्दा चुनावी तयारीमा व्यस्त छु ।
भोट माग्न मतदाताकहाँ पुग्दा कस्तो रेस्पोन्स पाउनु भएको छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी अरुभन्दा नयाँ पार्टी नै हो । हामीले एउटै मात्रै संसदीय निर्वाचनमा भाग लिएका छौँ । सङ्ख्याका हिसाबमा यो दोस्रो पटक हो । अहिले निर्वाचनको महायज्ञमा छौँ । यहाँ हार र जितको लडाइँ भइरहेको छ । भोटबाट शासन व्यवस्था बदल्ने हाम्रो एकमात्र अठोट रहेको छ । अहिलेको जनताले चाहेको भनेको सुशासन र भ्रष्टाचार अन्त्य रहेको छ । यो देश परिवर्तन हुनुपर्छ भन्ने उहाँहरूको चाहना छ । हामी त्यसका लागि भोट मागिरहेका छौँ ।
बाँके १ का लागि तपाईँसँग के के छन् चुनावी एजेण्डा ?
अहिलेको मुख्य आवश्यकता भनेको सुशासन हो । परिवर्तनसँगै भ्रष्टाचारको अन्त्य हो । विकास र भौतिक पूर्वाधार निर्माणका साथै आधारभूत आवश्यकताको परिपूर्ति मेरा मुख्य चुनावी एजेण्डा हुन् । हामीले घरदैलो गर्दै गर्दा पनि धेरै साथीहरूले हामीलाई बाटो र बिजुली चाहियो भन्नुहुन्छ । यो त एउटा सांसदले गर्ने कुरा हो । हामीले स्पष्ट रुपमा भनेका छौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गर्ने काम भनेका नेपालमा विद्यमान ऐन कानुनहरूको संशोधन गर्ने हो । ती कानुनहरूलाई जनमैत्री बनाउने हो । कानुनी कुराहरू संसद्मा पु¥याउँछौँ । नीति नियमहरू राम्रो बनेको खण्डमा मात्रै देशको विकास हुन्छ । भोलि मतदाताहरूलाई नेता खोज्नु पर्ने अन्त्यको लागि हामीले भोट मागिरहेका छौँ ।
बाँके १ मा १४ जना उम्मेदवार छन्, तपाईँलाई मात्रै भोट किन दिने मतदाताले, तपाईँ अरुभन्दा कुन आधारमा फरक हुनुहुन्छ, के भन्नुहुन्छ ?
मैले तपाईँलाई भनिरहेको छु । मतदाताले हामीलाई बाटो माग्छन् । अन्य उम्मेदवार र दलहरूले लामो समयदेखि घोषणापत्र र वाचापत्रमा बाटो बनाउँछौँ भन्नुभयो । तर काम गर्न सक्नु भएन । उहाँहरूले हामीलाई पनि त्यही रुपमा हेरिरहनु भएको अवस्था छ । हामी पनि यसै समाजका मानिसहरू हौँ । उहाँहरूले कहिल्यै पुल र बाटो बनाएको देख्नुभयो ? त्यस कारण हामी स्पष्ट छौँ । हामी भोलि संसद्मा गएर जनताका पक्षमा कानुन निर्माण गछौँ । उहाँहरूको सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ । त्यसका विषयमा छलफल र बहस गर्छौँ । बीउबिजनका कानुनहरू किसानमैत्री छैनन् । कानुन निर्माण गरेर सहज बनाउँछौँ । हामी विकास गरिदिने झुठो प्रलोभन देखाउँदैनौँ ।
घरदैलोमा व्यस्त हुनुहुन्छ, के कस्ता समस्या देख्नुभयो ?
यो यस्तो निर्वाचन क्षेत्र हो । जहाँ धेरै मतदाताहरू हुनुहुन्छ । यस क्षेत्रमा तीनवटा पालिका पर्छन् । जहाँ स्वर्ग पनि यहीँ छ । विकटता पनि यहीँ छ । यस्तो क्षेत्र छ । नेपाली पैसा चल्दैन । सबैभन्दा बढी थारू बाहुल क्षेत्र रहेका छन् । तीन पालिकाका धेरै कुरा छन् । समस्या समाधानहरूलाई मैले प्राथमिकीकरण गरेको छु । सोहीअनुसार अघि बढ्ने मेरो प्रतिबद्धता पनि छ ।
तपाईँ आफू विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
चुनावी मैदानमा गइसकेपछि हार या जित दुवै स्वीकार गर्नुपर्छ । यो तीतो सत्यसमेत हो । म एउटा उम्मेदवार हुँ । हरकोहीलाई जित्ने चाहना हुन्छ, प्रतिष्पर्धामा । भन्नैपर्छ परिवर्तन चाहेको छ । परिवर्तनको पक्षमा जनता छन् । धेरै लामो समय व्यतीत भइसकेको छ । नारामै सीमित भएको छ । यहाँका मतदाता सबैभन्दा ठूला शक्ति हुन् । त्यसैले यहाँका जनताले परिवर्तनका पक्षमा मतदान गर्नेछन् । घण्टीवाहक उम्मेदवारलाई जिताउनेछन् ।








प्रतिक्रिया दिनुहोस्