ब्रिजमा पाँचौँ फाउन्डर कप र स्पोर्ट्स मिट्स सुरु



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर–५ स्थित ब्रिज इन्टरनेशनल स्कुलमा पाँचौँ फाउन्डर कप र स्पोर्ट्स मिट्स–२०८२ सुरू भएको छ । स्कुलको आयोजनामा पाँचौँ फाउन्डर कप र स्पोर्ट्स मिट्स– २०८२ सुरू भएको हो । फाउन्डर कपको मंगलबार एक कार्यक्रमबीच स्कुलका सञ्चालक समितिका अध्यक्ष शिवकुमार पौडेलले दीप प्रज्वलन गर्दै खेलाडीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे ।

अध्यक्ष पौडेलले स्कुलका विद्यार्थीहरूको क्षमता विकासका लागि फाउन्डर कप सञ्चालन गरिएको बताए । उनका अनुसार विगतका चार संस्करण भव्य रूपमा सम्पन्न भएका थिए । यस पटकको कप पनि मर्यादित र शान्तपूर्ण हुने उनले विश्वास व्यक्त गरे । ‘आजबाट फाउन्डर कप र स्पोटर््स मिट्स सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता हुनेछ । यो ब्रिज स्कुलको पहिचान स्थापित गर्ने प्रतियोगिता हो ।’

स्कुलका संस्थापक समीर घर्तीले कपलाई विद्यार्थीहरूको क्षमता प्रस्तुत गर्ने उपयुक्त अवसरका रूपमा लिइएको बताए । उनका अनुसार ब्रिजमा हरेक शुक्रबार ‘बुकलेस’ बनाउने गरिएको छ । त्यसदिन विद्यार्थीले स्कुल आउँदा झोला बोक्दैनन् । अन्य विद्यालयहरूमा हुने वार्षिकोत्सवको सट्टामा फाउन्डर कप सञ्चालन गरिएको उनको भनाइ छ ।

फाउन्डर कप आगामी फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । कप चार दिनसम्म सञ्चालन हुने कपमा स्कुलमा रहेका चारवटा समूह (सदन)बीच विभिन्न बिधामा प्रतिस्पर्धा हुनेछ । ब्रिज इन्टरनेशलन स्कुलमा माछापुच्छ्रे, सगरमाथा, कञ्चनजंघा र अन्नपूर्ण समूह रहेका छन् ।

पहिलो दिन दुई टिम विजयी

फाउन्डर कप र स्पोटर््स मिट्स–२०८२ को पहिलो दिन विभिन्न खेल सम्पन्न भएका छन् । उद्घाटन खेल समरमाथा र अन्नपूर्ण समूहबीच फुटबल खेल भएको थियो । लेभल ३ तर्फको खेल निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएपछि ट्राइब्रेकरमा अन्नपूर्णलाई पराजित गर्दै सगरमाथा विजयी भएको छ ।

यस्तै छात्र फुटसल लेभल २ तर्फ अन्नपूर्णलाई हराउँदै कञ्चनसङ्घा विजयी भएको छ । कोकोकोला टी रेस, ब्यालुन ब्रस्ट र फिल द बटल खेल सम्पन्न भएका स्कुलका माध्यमिक तहका शिक्षक चन्द्र पंगाली (यात्री)ले जानकारी दिए । दोस्रो दिन (आज) म्युजिकल चियर, प्याक द ब्याग, ड्रोइङ, चेस, भलिबल, फुटसल (छात्रा) र फुटबल खेल हुने उनको भनाइ छ ।

फागुन १४ गते बार्बल रेस, पिक्ड अफ द बल र छात्रा फुटसलको फाइनल खेल हुनेछ । १५ गते छात्र फुटसल फाइनल र विद्यार्थी र शिक्षकबीचको फुटबल खेल हुने स्कुलले जनाएको छ । पाँचौँ फाउन्डर कप र स्पोर्ट्स मिट्स–२०८२ को समापन फागुन १६ गते हुनेछ । उद्घाटनमा सञ्चालक समितिका सदस्यहरू शुकलाल न्यौपाने र कमल खड्कासहित विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार