कोहलपुर ।
यहीँ फागुन २८ गतेदेखि सञ्चालन हुने कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको अफिसियल ‘क्याम्पा’ ब्राण्ड लोगो सार्वजनिक गरिएको छ । कोहलपुरमा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको टि–२० प्रतियोगिताको ‘क्याम्पा’ ब्राण्ड अफिसियल लोगो अनावरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र कोहलपुर स्पोर्टस् एकेडेमीका सञ्चालक तथा प्रतियोगिता संयोजक विनायक गिरी संयुक्त रूपमा उक्त लोगो सार्वजनिक गरेका हुन् ।
लोगो सार्वजनिक गर्दै नगरप्रमुख आचार्यले कोहलपुरमा पहिलो पटक राष्ट्रियस्तरको टि–२० प्रतियोगिता हुनु सुखद पक्ष रहेको बताए ।कोहलपुरलाई क्रिकेटका माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन कोहलपुर प्राइड लिग एक कोसेढुङ्गा साबित हुने विश्वास लिएको बताउँदै उनले प्रतियोगिताका लागि स्थानीय सरकारको तर्फबाट क्षमताले भ्याएसम्म आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
स्थानीय सरकारले खेलको विकास गर्न र स्थानीय खेलाडीहरू उत्पादन गर्नका लागि खेकलकुदलाई विशेष प्रथामिकता दिँदै आएको उनको भनाइ थियो । कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितालाई चरणबद्ध रूपमा निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।
कोहलपुरको क्रिकेट विकास गर्न र खेलकुदबाटै कोहलपुरलाई चिनाउन कोहलपुर प्राइड लिग टि–२० क्रिकेट प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले बताए ।
युवा खेलाडीहरूले प्रतियोगिता कोहलपुरमा सञ्चालन गर्न गरेको साहस र अठोटलाई सबैले सक्दो सहयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो । कोहलपुर प्राइड लिग टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २८ गतेदेखि कोहलपुर–११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका संयोजक गिरीले जानकारी दिए ।
उनले कोहलपुरमा पहिलो पटक त्यसमा पनि राष्ट्रिय खेलाडीहरूको सहभागितामा प्रतियोगिता सञ्चालन हुन लागेको बताए । प्रतियोगितालाई विश्वास गरेर मुख्य प्रयोजकरूपमा ‘क्याम्पा’ले सहकार्य गरेको भन्दै उनले धन्यवादसमेत दिए । उनले प्रतियोगितालाई सफल पार्न सहकार्य गर्ने प्रायोजकहरूलाई कृतज्ञता प्रकट गर्दै कोहलपुर प्राइड लिग अब प्रत्येक वर्ष सञ्चालन हुने प्रतिबद्धता जनाए ।








प्रतिक्रिया दिनुहोस्