‘पाँच वर्षभित्र नेपालगन्जको गुमेको शाख फिर्ता ल्याउँछौँ’



डुडुवा र नेपालगन्ज उपमहानगरलाई सँगसँगै, कुनै भेद्भावबिना विकास अगाडि बढाएर र यहाँको व्यापारी र उद्योगीलाई पनि कसरी पश्चिमकै विभिन्न अवसरहरू दिएर, सँगै सहकार्य गरेर, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जुन पुरानो गुमेको शाख छ, जुन यो केन्द्रबिन्दु छ त्यसलाई कसरी अगाडि बढाउने भनेर योजनाहरू बनाउँछौँ । अबको पाँच वर्षभित्र नेपालगन्जको गुमेको शाख फिर्ता ल्याउँछौँ ।

                 विवेककुमार श्रेष्ठ, बाँके निर्वाचन क्षेत्र नम्बर २ रास्वपाका उम्मेदवार

मतदातामाझ गइरहँदा कस्तो पाउनुभयो तपाईँप्रतिको मतदाताको बुझाइ ?

जनताहरू एकदमै उत्साहित छन् । अब देशमा रास्वपा चाहिन्छ । देश बनाउन देश जोगाउन र आगामी सन्तान र भविष्यको लागि रास्वपामाथि उहाँहरूले धेरै विश्वास गर्नुभएको छ । र उहाँहरू उत्साहित हुनुहुन्छ फागुन २१ गते घण्टीमा भोट हाल्नका लागि । तपाईँ हुन त रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा जोडिनुभएको थियो । तर, व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएकोले तपाईँ जनतामाझ नयाँ अनुहार पनि हो।

तपाईँको अनुहार चिनाउन कत्तिको सकस छ मतदातामाझ ?

अहिले चाहीँ जनतामाझ जाँँदाखेरि, हामीलाई अनुहारसँग मतलव छैन । हामीलाई कामसँग मतलव छ, हामीलाई वाचासँग मतलव छैन, तर जुन वाचा गर्नुभएको छ त्यो पूरा हुनुपर्छ भनिरहनुभएको छ । त्यै भएर अनुहार धेरै हेरियो अब काम हेर्छाैँ भनिरहनुभएको छ ।

बाँके क्षेत्र नम्बर २ राष्ट्रिय राजनीतिका हिसाबले पनि महत्वपूर्ण क्षेत्र हो । यस निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि प्रधानमन्त्रीसमेत भएका छन् । यस्तो निर्वाचन क्षेत्रमा तपाईँ नै किन चाहिएको ?

अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशले र जनताले खोजिरहेको छ । त्यसमाथि पनि रास्वपाले मलाई उम्मेदवार किन बनायो भनेपछि म विवेककुमार श्रेष्ठले यहाँ गर्न सक्छ, यहाँ भिजेको छ । विगत १५, १६ वर्षदेखि यहाँ समाजसेवामा लागिरहेको छ । व्यवसाय गरिरहेको छ । यहाँको विगत १५, १६ वर्षदेखिन् यहाँको जनतालाई परेको विभिन्न समस्यामा मैले निरन्तर आवाज उठाउँदै आएको छु । त्यही भएर यहाँको वस्तुस्थिति सबै जानकारी भएको हुनाले यहाँको जनताले मलाई खोजिरहेको छ र उहाँले मलाई जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

तपाईँले पहिचान गर्नुभएको यो क्षेत्रको सबैभन्दा ठूलो समस्या के हो ?

मैले पहिचान गरेको सबभन्दा जरुरी समस्या विगत ३०, ४० वर्षदेखि जो जनप्रतिनिधि जितेर जानुभएको छ, जनतालाई झुटो आश्वासन मात्रै दिनुभएको छ । यहाँको जनताले धेरै ठूलो आशा पनि गर्नुभएको छैन । जुन चाहीँ हामीले योजनाको प्राथमिकतामा सडक, नाला, खानेपानी, शिक्षामा पहुँच, स्वास्थ्यमा पहुँच त्यो नर्मल छ उहाँहरूको । अलि माथिल्लो वर्गमा जाँदाखेरि चाहीँ नेपालगन्जको जसन पहिचान सुरुमा थियो त्यो पहिचान खोजिरहनुभएको छ । पश्चिमको हब खोजिरहनुभएको छ । जुन अहिले गुमेको छ ।

त्यसो भए तपाईँसँग त्यस्तो के योजना छ, जसले नेपालगन्जको जुन हैसियत थियो फर्काउन सक्छ ?

हेर्नुस्, म सबै क्षेत्रको विज्ञ पनि होइन । म विभिन्न विज्ञहरूसँग सल्लाह सुझावमा वाचापत्र पनि पेश गरेको छु । त्यसमा पनि स्वास्थ्यको हब बनाउने भन्ने कुरा छ । डुडुवा र नेपालगन्ज उपमहानगरलाई सँगसँगै, कुनै भेद्भावबिना विकास अगाडि बढाएर र यहाँको व्यापारी र उद्योगीलाई पनि कसरी पश्चिमकै विभिन्न अवसरहरू दिएर, सँगै सहकार्य गरेर, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जुन पुरानो गुमेको शाख छ, जुन यो केन्द्रबिन्दु छ त्यसलाई कसरी अगाडि बढाउने भनेर योजनाहरू बनाउँछौँ । अबको पाँच वर्षभित्र नेपालगन्जको गुमेको शाख फिर्ता ल्याउँछौँ ।

नेताले भिजन पनि दिन सक्नुपर्छ भन्ने मान्यता छ । तपाईँको भिजनले त्यसलाई गाइड गर्ने होला नै हैन ?

मेरो भिजन भनेको म चाहीँ जवाफदेही हुन्छु । यहाँ सबैभन्दा बिग्रेको के छ भनेपछि जितेर गएपछि जवाफदेहिता हुँदैन । अर्काे कुरा म निरन्तर जनआवाज सुन्छु र जनतामाझै म जान्छु । मेरो एउटा भिजन के छ भने महिनामा एकपटक या दुई महिनामा एकपटक जनताको बीच जान्छु र उहाँहरूको जनआवाज र जनगुनासो सुन्छु ।

यसअघि तपाईँको पार्टीका तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने व्यक्तिले अपेक्षाकृतरूपले संसद्मा आवाज बोल्न सक्नुभएन भन्ने आरोप छ । त्यसलाई कसरी चिर्नुहुन्छ ?

कति कुरा आआफ्नो गुण अवगुण हुन्छ । कोही कोही बोल्नमा राम्रो हुन्छन्, कोही कोही भित्रभित्रै काम गर्नमा राम्रो हुन्छन् । आआफ्नो गुणमा भर पर्छ । सिक्दै जाने कुरा हो । कोही पनि सर्वगुण सम्पन्न हुँदैन । हामी पनि सिक्ने क्रममा छौँ । मलाई सबै कुरा आउँछ भन्ने छैन । फेरि पनि म भन्छु हामी बोल्ने भन्दा पनि काम गर्नेमा विश्वास गर्छाैँ । अहिले सम्पूर्ण जनताले काम खोजिरहेका छन् र हामी काम गरेर देखाउँछौँ । कमजोरीमा हामी सुधारिँदै जान्छौँ भन्ने पनि मलाई विश्वास छ ।

यसअघि सुरु भएका तर अपुरा योजनाहरूप्रति यहाँको दृष्टिकोण के हुनेछ ?

रास्वपा र मेरो व्यक्तिगत दृष्टिकोण कहिल्यै पनि प्रतिशोधको राजनीति म गर्दिनँ । योजना भनेको सम्पूर्ण बाँकेबासीकै योजना हो । चाहे जुन पार्टीले गरे पनि अधुरो योजनाहरू सम्पन्न गर्न मेरो भरपुर योगदान र आवाज म उठाउनेछु ।

तपाईँ निर्वाचित भइसकेपछि जनताप्रतिको उत्तरदायित्व कसरी पालना गर्नुहुन्छ ?

म जनताका हरेक प्रश्नको उत्तर दिन तयार छु । जवाफदेहिताको सवालमा म जनताको गुनासाहरू सुन्नलाई म दैनिक नभ्याउँला, तर एउटा सेड्युल बनाउँछु । म त्यहीअनुसार जनतामाझ पुग्छु र उहाँहरूका जनगुनासोहरू सुन्छु । र रास्वपा संविधान मान्ने पार्टी हो । संविधानलाई नमानेर जाँदैन । नेपालको नीति नियम सबैभन्दा बढी रास्वपाले मान्छ । त्यो ट्रयाक हामी छोड्दैनौँ ।

निर्वाचित भइसकेपछि जनप्रतिनिधिहरू सुशासनमा अडिग हुन सक्दैनन् । तपाईँ सुशासनयुक्त राजनीति गर्नुहुनेछ भन्ने कसरी विश्वास गर्ने ?

म एउटा व्यवसायी हुँ । मलाई सबै पुगेको छ । सानैदेखि समाजसेवा गरुँ, जनताको आवाज बनौँ भन्ने भित्रैदेखिको सोचले म राजनीतिमा आएको हुँ । राजनीतिमा केही गर्नुप¥यो भनेर । खाली अरुलाई गाली गरेर मात्रै पनि भएन । जुन मेरो छवी छ त्यसभन्दा बाहिर कुनै भ्रष्टाचार या नियम कानुन मिचेर म काम गर्दिनँ । मैले यसबाट बच्नका लागि कस्तो मान्छेको कुरा सुन्ने ? कस्तोको कुरा नसुन्ने भन्ने एकदम निगरानीपूर्वक इमानदारीपूर्वक म काम गर्नेछु । आफ्नै पार्टीको दुईचार जनाको मात्रै कुरा सुनेर बिग्रेको अवस्था हो । त्यो चाहीँ म गर्दिनँ ।

तपाईँ विजयी हुनुभयो भने कति मतान्तरले हुनुहोला ? केही अनुमान ?

मैले उम्मेदवारी दर्ताखेरि नै भनेको थिएँ सातदेखि आठ हजार मतान्तरले म जित्छु, अहिले पनि हामी एक नम्बरमै छौँ । बाँके २ ले रास्वपालाई जिताएर नयाँ इतिहास कायम गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार