तीन पार्टीबीच एकअर्काका उम्मेदवार सघाउने सहमति



कोहलपुर (बाँके) ।

नागरिक उन्मुक्ति पार्टी नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच बाँके र बर्दियामा पार्टीका उम्मेदवारहरूलाई सघाउने सहमति भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके र बर्दियाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई दुवै पार्टीले सघाउने सहमति भएको हो ।

नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष कबिर सोप र संरक्षक रेशमलाल चौधरी तथा प्रगतिशील लोकतान्त्रिक पार्टीकी बाँके १ की उम्मेदवार कृष्णा केसी (नमुना) र केन्द्रीय सदस्य गेहेन्द्रप्रसाद ढकालबीच भएको पाँचबुँदे सहमतिअनुसार लुम्बिनी प्रदेशको बाँके र बर्दिया गरी दुई जिल्लामा लागू गर्न दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ । सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टी नेपालले प्रलोपाकी बाँके १ की उम्मेदवार केसीलाई सघाउनेछ ।

संयुक्त रूपमा आमसभालगायत प्रचारप्रसार गर्ने र समानुपातिकतर्फ नाउपा नेपालको जाँतोमा सघाउनेछ । बाँके क्षेत्र नम्बर ३ मा प्रलोपाले प्रत्यक्षतर्फ नाउपा नेपालका उम्मेदवार धुव्र चौधरीलाई सघाउने र समानुपातिकतर्फ नाउपा नेपालले चुनाव चिन्ह जाँतोमा सघाउने सहमति भएको हो ।

यस्तै बर्दिया जिल्लाको क्षेत्र नम्बर १ र २ को हकमा नाउपा नेपाललाई प्रत्यक्ष र समानुपातिक दुवै पक्ष चुनाव चिन्ह जाँतो अर्थात् चकियामा प्रचारप्रसार, आमसभामा मत माग्ने र मतदानमा सघाउने र प्रलोपा र नाउपा नेपाल दुवै पार्टीले सम्झौता इमान्दारीपूर्वक पालना गराउने र आगामी दिनमा पार्टी एकीकरणको बाटो तय हुने भएकोले एक अर्कालाई धोका नदिने सहमति गरिएको छ ।

यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपाल बाँकेबीच चुनावी रणनीतिक तालमेल र कार्यगत एकता गर्ने तीनबुँदे सहमति भएको छ । प्रलोपा बाँकेका अध्यक्ष दीपक शर्मा र जसपा नेपाल बाँकेका अध्यक्ष कौशलकुमार मिश्रका साथै दुवै पार्टीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूबीच सहमतिअनुसार बाँके १ मा प्रलोपाकी उम्मेदवार कृष्णा केसी (नमुना) जसपा नेपालले सघाउनेछ । यस्तै बाँके २ मा जसपा नेपालका उम्मेदवार कमरुद्दिन राईलाई प्रलोपाले सघाउने सहमति भएको हो ।

दुवै पार्टीबीच भएको तीनबुँदे सहमतिमा ३ नम्बरमा भनिएको छ, ‘दुवै राजनीतिक दल प्रलोपा र जसपा नेपालका सम्पूर्ण सांगठनिक संरचनाहरू साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचिालित हुनेछन् । निर्वाचन प्रचारप्रसारका क्रममा दुवै दलले एकअर्काको विचार, सिद्धान्त, झण्डा र अस्तित्वको उच्च सम्मान गर्नेछौँ ।’ यस्तै एकअर्का उम्मेदवारलाई आफ्नै दलको उम्मेदवारसरह आत्मसात् गरी राष्ट्र निर्माणको साझा गन्तव्यतर्फ अगाडि बढ्ने प्रतिबद्धता गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार