नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२–०८३ का लागि हुड्के, ब्यूरेनि, साझघाट, चेपाङ जामु सडक निर्माण गर्न बजेट नै नछुट्याएपछि समस्या आएको छ । एकातिर सडक कालोपत्रेको काम धमाधम भइरहेको छ भने अर्कोतिर ठेकेदार पक्षलाई रकम भुक्तानी गर्न बजेट नै छैन । सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगिसक्दा सरकारी पक्षको कमजोरीका कारण बजेट नहुँदा ठेकेदारपक्ष काम गर्ने कि रोक्ने भन्ने दोधारमा छ ।
आर्थिक वर्ष २०८०–०८१ देखि काम सुरु भएको यो सडक निर्माणका लागि कूल सम्झौता रकम ६१ करोड ५९ लाख रहेको छ । तर ठेकेदार पक्षले हालसम्म काम गरेको पूरा रकम पाएको छैन । सडक निर्माणको काम गरे पनि रकम भुक्तानी हुने निश्चित नभएपछि सडक निर्माणकार्य चिन्ताको विषय बनेको हो । यसअघि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समेत सो सडक निरीक्षण गर्दै ठेकेदार पक्षलाई धमाधम काम गर्न तर रकम भुक्तानीको चिन्ता नलिन सुझाव दिएका थिए । तर ठेकेदार पक्षले हालसम्म काम गरेको ११ करोड बढी रकम भुक्तानी पाएको छैन ।
निर्माण कम्पनी खड्का, कृष्ण, श्याम एण्ड संकर जेभिले हालसम्म काम गरेको रकम भुक्तानीअनुसार ६७ र कामको आधारमा ८५ प्रतिशत बढी निर्माणकार्य सम्पन्न भएको छ । निर्माण कम्पनीका कन्ट्याक्टर प्रोजेक्ट म्यानेजर दिलिप सुवेदीका अनुसार आगामी वैशाखसम्म काम सक्ने तयारी छ भने यही हप्तामै १० किलोमिटर कालोपत्रेको काम सकिँदै छ ।
उनका अनुसार यस सडकको कूल लम्बाई १६ किलोमिटर रहेको छ । यो सडक निर्माणका लागि कूल १६ किलोमिटर दूरी बराहताल गाउँपालिका ८ हुड्केस्थित सुरु भई बराहताल ४ तरंगासम्म रहेको छ । ‘सडक कालोपत्रेसहितको निर्माण सम्झौता आगामी असारमा सकिँदैछ। सोहीअनुसार हामी काम सम्पन्न गर्न पनि तयार छौँ, तर सडक निर्माणका लागि यस वर्ष बजेट नै विनियोजन भएको छैन्,’ उनले भने, ‘यस क्षेत्रका स्थानीयको कष्टपूर्ण सडक यात्रा देखेर निर्माण कम्पनीले तीव्र गतिमा काम गरिहेको छ । तर कामअनुसार रकम भुक्तानीको ग्यारेन्टी नहुँदा समस्यामा छौँ ।‘
बर्खा लाग्नुअघि काम नसकेको खण्डमा हालसम्म गरेको काम पनि भत्किएर सडक अवरुद्ध हुनसक्ने अवस्था रहेको उनी बताउँछन् । यता पूर्वाधार विकास निर्देशनालय सुर्खेतले सडक निर्माणमा रकम अभाव हुन नदिने दाबी गरेको छ । निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बजेट व्यवस्थापनका लागि छलफल भइरहेको बताए ।
‘यो सडक समपूरक योजना अन्र्तगतको हो । यस वर्ष यस सडकका लागि बजेट नै विनियोजन नहुँदा समस्या आएको नै हो, तर समस्या समाधानमा लागिपरेका छौँ,’ उनले भने, ‘प्रदेश सरकारको बजेट रकमान्तर गरेरै भए पनि यो सडक निर्माणमा लगानी गर्ने तयारी छ, यसमा छलफल भइरहेको छ, तर समपूरक योजनामा रकमान्तर गर्न मिल्छ कि नाइँ ? यसबारे अर्थ मन्त्रालयसँग सहकार्य गरिरहेका छौँ ।’
अर्थ मन्त्रालयको स्वीकृति आएमा बजेट समस्या नहुने दाबी गर्दै बजेटकै कारण यो सडक निर्माणको काम रोक्न आवश्यक नरहेको उनले बताए । ‘निर्माण कम्पनीले हालसम्म गरेको काम अनुसारको ११ करोड रकम भुत्तानी गर्नुपर्ने कार्यालयलाई दायित्व सिर्जना भएको छ, तर पाँच करोड निर्माण कम्पनीले अग्रिम पेश्की लिएको छ,’ उनले थपे, ‘पेश्की रकम काट्ने हो भने, अब चानचुन सात करोड रकम अपुग देखिन्छ । त्यो रकम व्यवस्थापनको पहल भइरहेको छ ।’
रकम अभावकै कारण निर्माण कम्पनीले काम रोक्छ जस्तो नगालेको भन्दै हाल स्रोत सुनिश्चित नभएकाले काम सम्पन्नपछि रकम नपाउने हो कि ? भन्ने चिन्ता लिनु स्वभाविकै रहेको उनले बताए । हुड्के–ब्यूरेनि–साझघाट–चेपाङ जामु सडक कालोपत्रे भएपछि बराहताल गाउँपालिकाका तरंगा, तेलपानी लगायतका दर्जनौँ बस्ती पहिलो पटक पक्की सडक सञ्जालमा जोडिएका छन् ।
स्थानीयका अनुसार सडक बनेपछि वर्षौँदेखि भोग्दै आएको कच्ची, धुलाम्य र जोखिमपूर्ण यात्राबाट मुक्ति मिल्नेछ । तर सडक १६ किलोमिटर नै कालोपत्रे गर्न माग छ । निर्माण कम्पनीले अधिकांश खण्डमा बेस, सब–बेस र ड्रेनेज संरचना निर्माण गरिरहेको छ । केही भागमा कालोपत्रे बाँकी छ । बर्खा सुरु हुनुअघि काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
वर्षात्का बेला हिलो र पहिरोका कारण सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पु¥याउन, विद्यार्थीलाई विद्यालय जान र किसानलाई उत्पादन बजारसम्म लैजान निकै सास्ती हुने गरेको थियो । धुलाम्य सडकका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढ्नुका साथै सवारीसाधन सञ्चालन पनि अनियमित हुने समस्या थियो । सडक कालोपत्रे भएपछि कृषि उपज ढुवानी सहज हुने, यातायात खर्च घट्ने तथा बजार पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्