उम्मेदवार पाण्डेद्वारा प्रतिबद्धता पत्र सार्वजनिक



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

नेपाली कम्युनिस्ट पार्टी बाँके निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स)ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलनमार्फत उम्मेदवार पाण्डेले १९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘हिजो व्यवस्था बदल्न लड्याँै, अबको लडाइँ अवस्था बदल्न, भष्ट्राचारमुक्त समाज, सुशासन, विकास र समृद्धि हाम्रो अभियान’ भन्ने मूल नारासहित पाण्डेले निकै महत्वकांक्षी योजनालाई प्राथमिकता दिएका छन् ।

जेनजी आन्दोलनको भावनालाई मर्मलाई आत्मसाथ गर्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई अवलम्बन गर्दै संविधान संशोधनगरी जनपक्षीय निर्माण कानुन निर्माण गर्न पहल गरिने उनको योजना रहेको छ । प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडेमी निर्माण गर्ने, राप्ती नदीको कटान र डुवान नियन्त्रणका लागि बनेको गुरुयोजना कार्यान्वयन गर्ने, राप्ती सोनारी, नरैनापुरको समग्र विकासका साथै कोहलपुर आधुनिक सहरको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेपालगन्ज–हिल्सा सडकलाई अन्र्तराष्ट्रिय व्यापार तथा पर्यटकीय सडक निर्माण र विकास, नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गरिने र तत्काल नेपालगन्ज–दिल्ली उडान सुचारु गर्न पहल गरिने उल्लेख गरिएको छ । कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको बिजनेश टावरसहित सिटी हल निर्माण गर्ने, कोहलपुरलाई आर्थिक केन्द्र, राप्ती सोनारीलाई कृषि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी कोहलपुरको डुडुवा नदीलाई तटबन्ध, करिडोर, ग्रिन बेल्टसहितको वृहत्त गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने, भेरी–बबई डाईभर्सन, बबई–मानखोला डाइभर्सन गरी सिँचाइ, खानेपानी, विद्युत उत्पादनसहित बहुउद्देश्यीय आयोजनाको रूपमा अघि बढाउन र कोहलपुरलाई पश्चिम नेपालको एक विकसित आधुनिक ट्रान्जिट सहरको रूपमा विकास गर्न, राप्ती सोनारी र नरैनापुरलाई साना व्यापारिक नयाँ सहरका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

चप्परगौडी हुँदै घुइयाबारी–सल्यान जोड्ने अन्तरप्रादेशीय सडकलाई पूर्णता दिने, निर्वाचन क्षेत्र रणनीतिक सहर (अगैयादेखि केरुनिया–नरैनापुरको घोरदौरियासम्म) निर्माण कार्यलाई पूर्णता दिने, चप्परगौडीलाई स्मार्ट अटो भिलेजका रूपमा विकास गर्न पहल गर्ने तथा राप्ती सोनारीको खयरभट्टी, गुर्दनगौरी जस्ता गाउँहरूमा आधारभूत आवश्यकता परिपूर्ति गर्न, अगैया–माथेवास–कचनापुर–राजपुर–राँझा–गनापुर–टिटिरिहियासम्मको अन्तर जिल्ला जोड्ने सडकलाई पूर्णता दिने र कोहलपुर चक्रपथ निर्माण कार्यलाई व्यवस्थित तवरले पूर्णता दिन पहल गर्ने जस्ता प्रतिबद्धता समेटिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार