नन्दराम जैशी । सुर्खेत ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रबाट १३२ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । उक्त निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल प्रहरीले सुरक्षा रणनीति तयार गरी आवश्यक जनशक्ति परिचालन गरिसकेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रको संवेदनशीलता मूल्यांकन गरी सोही अनुसार सुरक्षाकर्मी खटाउने योजना छ ।
सीमावर्ती क्षेत्र तथा विगतमा विवाद देखिएका स्थानमा विशेष निगरानी बढाइएको प्रदेश प्रहरीले जनाएको छ । सुरक्षा निकायले मतदातालाई निर्भीक भई मतदान गर्न आग्रह पनि गरेका छन् । कर्णालीमा करिब १४ हजार ७१९ जना बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती भए पनि प्रहरीले मतदाता, उम्मेदवार, मतदान केन्द्र र मतदानस्थलको पूर्णरूपमा सुरक्षा दिने प्रहरीले दाबी गरेको छ ।
कर्णालीमा ६०० भन्दा बढी प्रहरी जनशक्ति अपुग भएपछि त्यसको पूर्ति गर्न केन्द्रसँग माग गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए । उनका अनुसार कर्णालीका कतीपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउनेबेला हुनसक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी गरिएको छ । अतिसंवेदनशील केन्द्रहरूमा सुरक्षाको विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ ।
प्रदेशका हिमाली तथा दुर्गम जिल्लामा भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका विवाद, राजनीतिक प्रतिस्पर्धा र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान केन्द्रको वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीका विभिन्न जिल्लामा रहेका अन्य मतदान केन्द्रहरूलाई संवेदनशील र सामान्य श्रेणीमा पनि राखिएको छ । अतिसंवेदनशील केन्द्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आवश्यक परे नेपाली सेनाको समेत परिचालन गरिने तयारी गरिएको छ ।
कर्णालीमा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन्, भने प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० जना छन् । प्रहरीले प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको छ । सोही अनुसार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाएत सरोकारवाला निकायले मतदानस्थल अनुगमनलाई पनि तीव्र बनाएका छन् ।
कर्णालीमा अन्य जिल्लाको तुलनामा डोल्पाका अधिकांश स्थानमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता रहेको छ । भौगोलिक विकटताका कारण अधिकांश मतदान केन्द्रका लागि हेलिकप्टरकै सहायता लिनुपर्ने बाध्यता रहेको हो । निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ओसारपोसार गर्न हेलिकप्टरकै भर पर्नुपर्ने स्थिती रहेको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले बताए ।
उनका अनुसार भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नैपर्ने बाध्यता रहेको छ । उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । पैदल हिँड्दा धेरै दिन लाग्ने भएकाले हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।
मतदान सामग्री समयमै सुरक्षित रूपमा मतदान केन्द्रमा पु¥याउन र कर्मचारीको आवतजावत सहज बनाउन हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । केही दिन लगाएर मान्छे विस्तारै पैदल आउजाउ गरे पनि मतपेटिका ओसारपोसार गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने भएको हो ।
खटिए निर्वाचन प्रहरी
सुर्खेतका निर्वाचन क्षेत्रमा निर्वाचन प्रहरीहरू खटिएका छन् । निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीलाई मतदान केन्द्र र मतदानस्थलमा खटाइएको हो । एक हजार ६२८ निर्वाचन प्रहरीलाई निर्वाचन क्षेत्रमा खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) मोहनजंग बुढथापाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक हजार ८४० निर्वाचन प्रहरी भर्ना भएका थिए ।
दुई निर्वाचन क्षेत्रअन्तर्गतका ३५ बढी प्रहरी युनिट मातहत रहने गरी निर्वाचन प्रहरीलाई खटाइएको उनले बताए । बुढथापाका अनुसार निर्वाचन प्रहरीले निर्वाचन पूर्वका आवश्यक तयारीमा सघाउनुका साथै मतदानका दिन पहिलो सुरक्षा घेरामा खटिने छन् । निर्वाचन सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, निर्वाचन अधिकृत, कर्मचारीहरू आवश्यक सामग्रीसहित १८ फागुनमा सम्बन्धित मतदान केन्द्रमा पुग्ने उनको भनाइ छ । उनका अनुसार दुवै निर्वाचन क्षेत्रमा ९०० बढी प्रहरी जनशक्ति खटाइनेछ, भने आवश्यकताअनुसार सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाइने छ ।









प्रतिक्रिया दिनुहोस्