वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका पाँचजना उम्मेदवाहरू एउटै मञ्चमा बसेर आफ्ना एजेण्डाहरू सुनाएका छन् । नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिको आयोजना र जुमा स्पोर्ट्स क्लबको सहकार्यमा आयोजित एजेण्डा बहस कार्यक्रममा उम्मेदवारहरू नेकपा एमालेका मो. इश्तियाक राई, काँग्रेसका सुधान्शु कोइराला, नेपाली कम्युनिस्ट पार्टीका दिपेन्द्र विष्ट, राप्रपाका ऋषिराज देवकोटा र स्वतन्त्र उम्मेदवार शौभाग्यजंग शाह सहभागी थिए ।
उक्त कार्यक्रममा सहभागी उम्मेदवारहरूलाई विभिन्न ६ वटा प्रश्नहरूमा समान समय दिएर बोल्न लगाइएको थियो भने सहभागी दर्शकहरूबाट प्रश्नका उत्तर पनि मागिएको थियो । ती प्रश्नमाथि बोल्दै उम्मेदवारहरूले आफ्ना एजेण्डामाथि प्रष्टीकरण दिएका थिए ।
उम्मेदवारहरूले बाँके क्षेत्र नम्बर २ को मुख्य समस्याको रूपमा डुडुवाको डुबान र कटानका साथै सडक पूर्वाधार विकास, स्वाथ्यका पूर्वाधार विकासमा ध्यान दिने आफ्नो योजना रहेको बताएका छन् ।
उम्मेदवारहरूका एजेण्डाहरूमा प्रायः समानता रहे पनि उनीहरूले त्यसको कार्यान्वयनको स्पष्ट खाका दिन नसकेको सहभागीहरूले बताएका थिए । दर्शकदीर्घाबाट सांसदहरूले गर्ने काम र कार्यकारीले गर्ने कामको फरक छुट्याउनु पर्नेदेखि लिएर नेपालगन्जमा जमिनमुनिको पानीको सतह घट्दै गएको सम्मका समस्यामाथि प्रश्नहरू आएका थिए ।
कार्यक्रममा बोल्दै एमालेका उम्मेदवार राईले आफूले आफ्नो चुनावी घोषणापत्रमा बाँके क्षेत्र नम्बर २ का क्षेत्रगत योजनाहरूको फेहरिस्त प्रस्तुत गरेको र ती सबै योजनाहरू आफू सांसद भएमा पूरा गर्ने दाबी गरे । उनले आफूले यसअघि सरकारमा मन्त्रीको रूपमा संगालेको अनुभव र जनप्रतिनिधिका रूपमा काम गरेको अनुभवका आधारमा ती योजनाको कार्यान्वयन गर्नसक्ने बताए ।
राईले कृषकहरूलाई समयमै मलखाद उपलब्ध गराउने, डुडुवा र राप्ती नदीको तटबन्धन, भेरी अस्पतालको स्तरवृद्धि, सामुदायिक विद्यालयको स्तरोन्नति, महेन्द्र बहुमुखीको स्तरोन्नति र रोजगारीको समस्या समाधान गर्न आफूले पहल लिने बताए । नेपाली काँग्रेसका कोइरालाले आफू पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको विरासत बोकेको व्यक्ति भएको बताउँदै जनपक्षीय काम गर्ने र सदाचारयुक्त काम गर्ने दाबी गरे ।
उनले बाँके क्षेत्र नम्बर २ मा काँग्रेसको पालामा धेरै विकास योजना सुरु भएकोमा अहिले पनि आफूले काम गर्ने बताए । उनले नेपालगन्ज रिङरोड, डुडुवा क्षेत्रलाई डुबान र कटानमुक्त बनाउन आफ्नो पहल हुने बताए । कृषकहरूलाई समयमै मल दिने, नेपालगन्जमा ट्राफिक व्यवस्थापन सुधार, ग्रामीण र सहरी क्षेत्रलाई कसरी जोड्ने भन्ने विषयमा आफूले काम गर्ने कोइरालाले बताए ।
यसैगरी स्वास्थ्य, शिक्षा र युवा रोजगारीको विषयमा पनि संसद्मा आफूले जोडदार आवाज उठाउने उनले उल्लेख गरे । नेकपाका दिपेन्द्र विष्टले यसअघि निर्वाचित भएर गएका जनप्रतिनिधिहरूले बाँके क्षेत्र नम्बर २ मा उल्लेखनीय काम गर्न नसकेको र छिमेकी जिल्लाको तुलनामा बाँके पछाडि परेको बताए । विष्टले योजना समयमै सम्पन्न गर्ने, युवाहरूलाई रोजगारीमा जोड्ने काममा आफूले प्राथमिकता दिने दाबी गरे ।
सुशासन र भ्रष्टाचारलाई प्रमुख एजेण्डा बनाएको बताएका विष्टले बाँके क्षेत्र नम्बर २ का ग्रामीणदेखि सहरी क्षेत्रको व्यवस्थापनसम्मका योजनाहरू आफूले तयार गरेको बताए । उनले आफ्नो आइटी सेवामा अनुभव रहेकोले बाँकेमा पनि त्यस अनुभवलाई लिएर प्रविधिमैत्री सेवा प्रदान गर्ने र आइटी हबको योजना बनाएको उनले बताए ।
राप्रपाका देवकोटाले सनातन संस्कृतिको रक्षा, राजसंस्थाको व्यवस्था र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले नगरभित्र ट्राफिक व्यवस्थापन र विकासका योजना, डुडुवामा कटान नियन्त्रणका लागि तटबन्धनको योजना आफ्नो रहेको बताए । डुडुवाको डुबान र कटानको समस्या समाधान गर्न राष्ट्रियस्तरकै परियोजना आवश्यक रहेको देवकोटाको भनाइ थियो । उनले राप्रपाले भ्रष्टाचार नगर्ने नीति लिएको बताउँदै आफू सुशासनका कटिबद्ध रहेको दाबी गरेका थिए ।
स्वतन्त्र उम्मेदवार शाहले यसअघि पटक–पटक जितेर गएका जनप्रतिनिधिहरूले काम नगर्ने, भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले नेपालगन्जका मुख्य समस्याहरूबारे आफूले संसद्मा दह्रो ढंगले आवाज उठाउन सक्ने दाबी गरे ।
पुस्तकालयको सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरले पुस्तकालयलाई सामाजिक विषयमा बौद्धिक विमर्शको केन्द्र बनाउन अभियान सुरु गरिएको र त्यसको पहिलो अंकमा समसामयिक विषयमा एजेण्डा बहस गरिएको बताए । बहसले लोकतान्त्रिक संस्कारलाई सघाउ पु¥याउने बताउँदै उनले आगामी दिनमा निरन्तर रूपमा थप अरु विषयमा पनि बहस तथा छलफलहरू पुस्तकालयले सञ्चालन गर्ने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्