रुपन्देही ४ मा पाँच जनाबीच मुख्य प्रतिस्पर्धा



श्यामलाल पोखरेल । बुटवल ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नम्बर ४ छिमेकी देश भारतको सीमा क्षेत्रसँग जोडिएको छ । रुपन्देहीको जिल्ला सदरमुकाम भैरहवाबाट नजिकै पर्दछ । यो क्षेत्रमा राजनीतिक दलहरुले केही दिनयतादेखि निर्वाचनका कार्यक्रमलाई घरदैलोमा केन्द्रित गरेका छन् ।

सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिकाको २–६ वडा, सियारी गाउँपालिकाको वडा ४ र ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा २, १२ र १३ समेटिएको क्षेत्र विकासका दृष्टिले पिछडिएको क्षेत्र मानिन्छ । यस निर्वाचन क्षेत्रमा यस पटकको निर्वाचनमा विगतदेखि विभिन्न दलबाट उम्मेदवार बन्दै आएका सर्वेन्द्रनाथ शुक्ला यसपालि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका छन् ।

०७४ को संसदीय निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेर विजयी भएका प्रमोद यादव यस पटक काँग्रेसबाट टिकट नपाएपछि पार्टी छोडेर एमालेमा प्रवेश गरी एमालेबाट उम्मेदवार बनेका छन् । अहिले यो क्षेत्रमा आधारभूत मानवीय आवश्यकताका विषयलाई लिएर विरासत जोगाउने र स्थापित गर्ने उम्मेदवारबीच प्रतिस्पर्धा हुने चर्चा छ ।

संसदीय यात्रामा पुगिसकेका पूर्वसांसद शुक्ला र यादव विरासत जोगाउन कस्सिएका बेला संसद् भवन पुग्नका लागि काँग्रेस, रास्वपा र जनमतका उम्मेदवार रोक्ने प्रयत्नमा मतदाताको घरदौलोमा पुगेका छन् । जसका कारण यो क्षेत्रको निर्वाचन निकै रोचक बन्दै गएको स्थानीय राम यादवले बताए ।

काँग्रेसबाट आशुतोष मिश्र, जनमत पार्टीबाट भूपेन्द्र यादव र यसअघि प्रदेशसभामा लोसपाबाट जितेका कन्हैया बानियाँले राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेकाले पाँच जनाबीच कडा प्रतिस्पर्धा हुने स्थानीयले अनुमान गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका शुक्ला आठौँ पटक चुनौवी मैदानमा उभिएका छन् ।

काँग्रेसबाट उम्मेदवार बनेर ०७४ मा शुक्लालाई पराजित गरेका यादव ०७९ मा तिनै शुक्लासँग पराजित भोगेका थिए । अहिले उनी मनोनयनकै दिन काँग्रेस छाडेर एमाले प्रवेश गरेर हारको बदला लिने खेलमा लागको एक स्थानीयले बताए । विगतका चुनावी अवस्था हेर्दा मधेशवादी दलबीच प्रतिस्पर्धा भएकोमा यस पटक भने अवस्था बदिलएको स्थानीय राम यादवले बताए ।

२०४८ को आम निर्वाचनदेखि ०७९ सम्मको प्रतिनिधिसभा निर्वाचनसम्मको चुनावी तथ्यांकअनुसार दुईदुई पटक काँग्रेस र एमालेले दोहोरिएर जितेका थिए । यो क्षेत्रका मतदाताले विभिन्न पार्टी र उम्मेदवारलाई पटक पटक जिताएकाले यसपालि कसले बाजी मार्छ भन्न नसकिने अवस्था छ । २०५६ को आम निर्वाचनमा नेपाली काँग्रेसका भरतकुमार शाहले १५ हजार ३० मतले विजयी भएको र संविधानसभा निर्वाचन २०६४ मा १५ हजार ८ सय ८० र संविधानसभा निर्वाचन २०७० मा १९ हजार ५ सय ७७ मत लिएर एमालेका नेता विष्णुप्रसाद पौडेललाई दुई पटक संसद्मा पुराएको क्षेत्रमा एमालेले काँग्रेसबाट आएका यादवलाई उम्मेदवार बनाएकाले उनको अग्निपरीक्षा हुने छ ।

काँग्रेसले स्थानीयसँग बढी घुलमिल भएका आशुतोष मिश्रालाई उम्मेदवार बनाएको छ । काँगे्रसका मिश्रले मतदाताको सकारात्मक सहानुभूति पाएकाले आफूले जित्ने दाबी गरेका छन् । जनमतबाट भोपेन्द्रप्रसाद यादव उम्मेदवार छन् । ०७९ मा पनि उनी यही पार्टीबाट उम्मेदवार बनेर तेस्रो बनेका थिए । त्यतिबेला आफूले प्राप्त गरेको मत र यस पटक सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेकाले आफूले सहज रुपमा जित्ने उनको दाबी छ ।

१ लाख १६ हजार १ सय ७२ जना मतदाता रहेको यो क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा उभिए पनि मुख्यतः पाँचजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने स्थानीयले बताएका छन् । सीमा क्षेत्रको यो निर्वाचन क्षेत्रका मतदाताले रातारात विचार परिवर्तन गर्न सक्ने विगतका निर्वाचनहरुमा देखिएकाले निर्वाचनको अघिल्लो दिनसम्मको चुनावी चहलफहल कस्तो बन्छ त्यसैमा भर पर्ने राजनीतिक कार्यकर्ताहरुको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार