कोहलपुर ।
कोहलपुरमा आजदेखि ‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ सञ्चालन हुने भएको छ । कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा कोहलपुर न्यूरोडस्थित खुलामैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता आजदेखि ११ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा भलिबल टिम प्रतिस्पर्धा गर्न लागेको कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबलबाट कोहलपुरलाई चिनाउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । क्रिकेट खेलाडी उत्पादन र क्रिकेट खेलका माध्यमबाट कोहलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएको बताउँदै उनले अब भलिबलबाट पहिचान बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।
‘कोहलपुरले यसअघि क्रिकेटका खेलाडी उत्पादन गर्ने र क्रिकेट खेलमार्फत आफ्नो पहिचान स्थापित गरिसकेको छ,’ उनले भने, ‘अब भलिबलमार्फत पनि कोहलपुरलाई चिनाउन आवश्यक छ । स्थानीय भलिबलका खेलाडी उत्पादन गर्ने, कोहलपुरलाई भलिबलका माध्यमबाट चिनाउने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ ।’
संयोजक चिमालाले पहिलो पटक जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको र विस्तारै प्रदेश तथा संघस्तरीय प्रतियोगिता पनि आयोजना गरेर भलिबल खेल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म अझै बढी चिनाउने उद्देश्य राखिएको पनि उल्लेख गरे । पश्चिम नेपालको केन्द्रबिन्दुमा रहेको कोहलपुरलाई खेलकुद पर्यटन सहर बनाउने लक्ष्य रहेको उनले बताए ।
कोहलपुर नगर खेलकुद विकास समितिका सदस्य एवम् प्रतियोगिताका संयोजक निर्मल विष्टले प्रतियोगिताका सम्पूर्ण खेलहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमानुसार खेलाइने जानकारी दिए । उनले टिम सङ्ख्याको आधारमा नकआउट वा लिग कम नकआउटको आधारमा खेलाइने उल्लेख गरे ।
उनका अनुसार प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी द्वितीय टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । यसैगरी व्यक्तिगत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि ब्राइट लाइट एकेडेमी कोहलपुर, बैजनाथ गाउँपालिका, गितापुर भलिबल क्लब कोहलपुर, भेरी प्राविधिक शिक्षालय नेपालगन्ज, रोयल ढकेरी राप्तीसोनारी, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, ट्री गार्डेन रिसोर्ट बैजनाथ, राप्तीसोनारी भलिबल क्लब राप्तीसोनारी, ग्रीन पिस सेकेन्डेरी स्कुल कोहलपुर, नमुना विद्या सदन कोहलपुर, जन ज्ञान ज्योति मावि कोहलपुर, काहेलपुर नगरपालिका कर्मचारी र खजुरा गाउँपालिका गरी जम्मा १३ वटा टिमले नाम दर्ता गराएका छन् ।
कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन एवम् व्यवस्थापनमा प्रतियोगिताका खेलहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय निमअनुसार खेलाइने आयोजकले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्