नेपालगन्ज ।
रोल्पाका दीपेन्द्र केसी रोजगारीका लागि भारतको उत्तराखण्ड गएका थिए । चुनाव हुने दिन नजिकिएपछि उनी स्वदेश फर्किए । नेपालगन्जको जमुनाह नाकामा भेटिएका केसीले पहिलेदेखि सत्तामा रहेका दलहरुले काम गर्न नसकेकोले नयाँलाई अवसर दिनुपर्छ भन्ने सोचिरहेको बताए । ‘नयाँहरुले केही गर्लान् कि भन्ने आशा हो । कामै नगर्ने हो भने त किन नयाँ चाहियो ।
पुरानै ठिक छन् नि,’ केसीले भने । उनले आफ्ना्े गाउँमा अहिले पनि खानेपानी ल्याउन एक घण्टा हिँड्नुपर्ने गरेको बताए । अर्काेतिर युवाहरु रोजगारी नभएर पलायन भइरहेका भन्दै उनले यीनै समस्याहरु अब जितेर आउने दलले पूरा गर्नुपर्ने बताए । सुर्खेतको सिम्ताका नरेन्द्र सुनार पनि भोपालमा रोजगारीमा थिए । घरायसी काम र चुनावको समय मिलाएर उनी स्वदेश फर्किएका छन् ।
उनले अहिले पनि विश्वासिलो दल आफूले पाउन नसकेको बताए । उनले नयाँ खुलेका दलहरु पनि व्यक्तिको स्वार्थका लागि खुलेको जस्तो लागिरहेको बताए । ‘सबै आ–आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेका छन् । देशको लागि गरौँ भन्ने कोही पनि छैनन् । यसपटक केही परिवर्तन होला भन्ने आशा त छ । तर हेर्दै जाउँ के–के हुन्छ,’ सुनारले भने ।
सल्यानका यक्षकुमार रावत पनि भारतको उत्तरकासीबाट मंसिरमा राम्रो काम पाइन्छ भनेर ठेकेदारले भनेको पत्याएर गएका थिए । उनका अनुसार त्यहाँ काम पनि राम्रो भएन । सडकमा मजदुरी गर्ने काममा राम्रो कमाइ नभैरहेको अवस्थामा चुनाव पनि नजिक आएपछि स्वदेश फर्किएको उनले बताए ।
प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै भोट हाल्नका लागि घर फर्किनेहरुको संख्या बढिरहेको देखिन्छ । बाँकेको सीमानाका जमुनाहमा खटिएको प्रहरीका अनुसार पछिल्लो केहीदिन यता भारतबाट फर्किनेहरुको संख्या विस्तारै बढिरहेको छ । विशेषगरी सुदूरपश्चि, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश नागरिकहरु रोजगारीका लागि भारतमा आश्रित छन् ।
कतिपय नागरिकहरु कृषि कर्मको मौसमबाहेक सिजनल रुपमा काम गर्न जानेहरु छन् भने कतिपयहरु भारतमै रोजगारी गर्नेहरु पनि छन् । पाँच वर्षको लागि मत दिएका नागरिकहरुले जेनजी आन्दोलनपछि मध्यावधिमै हुन लागेको निर्वाचनका लागि मत हाल्नुपर्ने अवस्था आएको छ।
भारतमा रहेका मतदाताहरुलाई उम्मेदवारहरुले चुनावी प्रचारका क्रममा स्वदेश फर्किन आह्वान गरिरहेका भिडिओ सामग्रीहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ । पार्टीका नेताहरुले पनि मत हाल्नका लागि स्वदेश फर्किन आह्वान गरिरहेका छन् । बुधबार धनगढीमा आयोजित सभाबाट रास्वपाका सभापति रवि लामिछानेले समय मिलाएर भोट हाल्न आउन आह्वान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्