यात्रा टुर डे ठाकुरद्वाराको आठौँ संस्करण फागुन ८ र ९ गते



नेपालगन्ज ।

बाँकेबाट बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रामार्फत हुँदै आएको यात्रा टुर डे ठाकुरद्वाराको आठौँ संस्करण फागुन ८ र ९ गते हुने भएको छ । आयोजक नेपालगन्ज साइक्लिङ क्लबले फागुन ८ र ९ गते टुर डे ठाकुरद्वाराको आठौँ संस्करण हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

टुर डे ठाकुरद्वाराको आठौँ संस्करणमा दुई सय ५५ भन्दा बढी महिला–पुरुष साइकलयात्रीहरूको सहभागिता रहने संयोजक प्रदीप सापकोटाले जानकारी दिए । क्लबका अध्यक्ष कबिराम बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सापकोटाले भारतीय २० जना साइकलयात्री पनि यात्रामा सहभागी रहने जानकारी दिए ।

नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरबाट सुरु हुरु हुने यात्रा पहिलो दिन त्रिभुवन चोक, वीपी चोक, सुर्खेत रोड हुँदै बाँकेको कम्दी, कोहलपुर, चप्परगौडी, खड्कवार हात्तीसार, बाँके निकुञ्ज, सुतैया ताल भएर गाभर भ्यालीमा पुग्ने सापकोटाले जानकारी दिए ।

दोस्रो दिन च्यामा चोक, सम्झना चोक, मान खोला हुँदै ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई भुरीगाउँ भएर ठाकुरद्वारा मन्दिरसम्मको १३० किलोमिटरको यात्रा पार गरेर समापन हुनेछ । आयोजक क्लबले फागुन ७ गते नेपालगन्ज किड्स फेस्टिबल २०८२ पनि आयोजना गर्ने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार