नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो । दोस्रो खेलमा इटलीसँग १० विकेटको लज्जास्पद हार व्यहो¥यो । तेस्रो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध बन्यो । अब नेपालले फागुन ७ गते स्कटल्याण्डसँग अन्तिम खेल खेल्नेछ ।
कोहलपुर (बाँके) ।
भारत र श्रीलंकामा जारी आइसीसी टी २० विश्वकपमा लगातार तेस्रो हारसँगै नेपालको सुपर ८ को सम्भावना समाप्त भएको छ । आइतबार भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएसँगै नेपालको सुपर ८ को सम्भावना सकिएको हो । जारी विश्वकपमा नेपालको यो तेस्रो हार हो ।
यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र इटलीसँग १० विकेटले पराजित भएको थियो । सुपर ८ को सम्भावना जिवित राख्न जित्नैपर्ने खेलमा नेपाल पराजित हुन पुगेको हो । फेरि एकपटक ब्याटिङ, बलिङ र फिल्डिङमा चुक्दा नेपालको सुपर ८ सपना सकिएको हो । टस हारेर वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले १३३ रन बनाउँदै १३४ रनको मध्यम लक्ष्य दिएको थियो ।
यता, वेस्ट इन्डिज भने लगातार तेस्रो खेल जित्दै एक खेलअगावै सुपर ८ मा पुगेको छ । वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो भने इंग्ल्यान्डमाथि ३० रनको जित निकालेको थियो । समूह ‘सी’मा वेष्ट इन्डिज अपराजित छ । ६ अंक बटुलेको वेस्ट इन्डिज उक्त समूहको शीर्षस्थानमा रहँदै एक खेलअगावै सुपर ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपाल भने शून्य अंकसहित समूहको पुछारमा छ । समूह ‘सी’का पाँच टिममध्ये नेपालले मात्रै अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन । इंग्ल्यान्डले नेपालसँग चार रनले जित निकाल्दा इंग्ल्यान्डमाथि ३० रनले पराजित भएको थियो । पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनको फराकिलो हार व्यहोरेको इटली दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।
यस्तै स्कटल्याण्डले एक खेलमा हार र एक खेलमा जितको नतिजा निकालेको छ । पहिलो खेलमा वेस्ट इन्डिजसँग ३५ रनले पराजित भएको स्कटल्याण्ड दोस्रो खेलमा इटलीलाई हराएको थियो । नेपाललाई हराउने क्रममा वेस्ट इन्डिजले १३४ रनको लक्ष्य १५.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान शाइ होपले अर्धशतकीय इनिङ्स खेले ।
उनी ४४ बलमा ६१ रनसहित अविजित रहे । यस्तै, शिमरोन हेटमायर ४६ रनमा अविजित रहँदा ब्रान्डन किङले वेस्ट इन्डिजका लागि २२ रन बनाए । बलिङतर्फ नेपालका नन्दन यादवले १ विकेट लिए । ब्याटिङतर्फ नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४७ बलमा सर्वाधिक ५८ रन बनाए । सोमपाल कामी १५ बलमा २६ रनमा अविजित रहे ।
नेपालका लागि लोकेश बमले १५ बलमा १३ र आसिफ शेखले १० बलमा ११ रन बनाए । रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।
दिपेन्द्र र सोमपालले रचे इतिहास
टिमले लगातार तेस्रो हार व्यहोरे पनि नेपालका दुई खेलाडीले इतिहास रचेका छन् । वेस्ट इन्डिजविरूद्ध खेलमा प्लेइङ–११ परेर सोमपालले इतिहास रचेका हुन् । उनी नेपालका लागि तीन विश्वकप खेल्ने पहिलो खेलाडी बनेका हुन् । सन् २०१४ मा विश्वकप खेलेको टोलीका सदस्यमध्ये तेस्रोपटक विश्वकप खेल्ने सोमपाल मात्रै एक्लो खेलाडी हुन् ।
सोमपालले सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमा नेपालले डेब्यु गर्दा पहिलो पटक खेलेका थिए । उनले टी २० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल पनि खेलेका छन् । करिअरको सुरुवात ब्याटरबाट गरेका सोमपाल तीव्र गतिका बलर हुँदै अलराउन्डरको भूमिका छन् । नयाँ बल लिएर विपक्षीविरूद्ध बलिङमा उत्रने सोमपाल नेपाली टोलीका सबभन्दा अनुभवी खेलाडी हुन् ।
उनले सन् २०२४ को विश्वकपसमेत खेलेका थिए । तेस्रोपटक विश्वकप खेल्दै इतिहास रचेका जारी विश्वकपको पहिलो खेलमा आफ्नो अनुभवको भरपुर प्रयोग गरे । सोमपालले दिपेन्द्रसिंह ऐरीसँग ५४ रनको अर्धशतकीय पारी खेल्दै २६ रनमा अविजित रहे । १५ बलको सामना गरेका उनले चार चौका प्रहार गरेका थिए । वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालका उपकप्तान दिपेन्द्रसिंह ऐरीले पनि कीर्तिमान बनाएका छन् ।
नेपालका मध्यक्रमका ब्याटरसमेत रहेका ऐरीले विश्वकपमा नेपालका तर्फबाट अर्धदशक बनाउने दोस्रो ब्याटर बने । आइतबारको खेलमा उनले नेपालका लागि सर्वाधिक ५८ रन बनाएका थिए । जुन विश्वकप इतिहासमा नेपालका कूनै पनि ब्याटरले बनाएको सबैभन्दा उच्च स्कोर हो। यसअघि सन् २०१४ मा नेपालले पहिलोपटक सहभागिता जनाएको विश्वकपमा अफगानस्तानविरुद्ध नेपाली ब्याटर सुवास खकुरेलले अर्धशतक बनाएका थिए ।
सुवासले अफगानिस्तानविरुद्ध ५३ बलमा ५६ रन बनाएका थिए । त्यही नै विश्वकपमा नेपाली ब्याटरको उच्च व्यक्तिगत स्कोर थियो । त्यसलाई आइतबार दिपेन्द्रले तोडेका हुन् । उनले ४७ बलमा ५८ रन जोडे । त्यतिबेला सुवासले अफगानिस्तानविरुद्ध नेपालको ओपनिङ गर्दै संयमित अर्धसतक बनाएका थिए । उनले १ छक्का र ६ चौका प्रहार गरेका थिए ।
उक्त म्याचमा नेपालले ५ विकेट क्षतिमा १४१ रन बनाएको थियो । अफगानिस्तानलाई १३२ रनमा रोक्दै नेपालले खेल जितेको थियो । त्यसयता वेस्ट इन्डिजसँगको खेलसम्म आइपुग्दा नेपालले कुनै पनि खेल जित्न सकेको छैन । नेपाल १२ वर्षदेखि विश्वकपमा जितविहीन छ । वेस्ट इन्डिजविरुद्धको खेलमा चौथो नम्बरमा व्याटिङ गरेका उनले ३ छक्का र ३ चौका प्रहार गरे । ७३ रनमा ६ विकेट गुमाएको स्थितिबाट सोमपाल कामी र ऐरीको साझेदारीले नेपालको उद्दार ग¥यो ।
उनीहरूले सातौँ विकेटका लागि २६ बलमा ५४ रनको विष्फोटक साझेदारी गरेका थिए । नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा दुई खराब इतिहाससमेत बनाएको छ । नेपालले बनाएको १३४ रन टि२० मा कमजोर स्कोर हो । यसअघि सन् २०२४ मा पनि बंगलादेशविरुद्ध पावर प्लेमा २४ रन बनाएर– ४ विकेट गुमाएको थियो । यसपटक वेस्ट इन्जिडविरुद्ध पावर प्लेमा २४ रन बनाएर– ३ विकेट गुमायो । जुन नेपालको टी२० विश्वकपमा सबैभन्दा खराब नतिजा हो ।









प्रतिक्रिया दिनुहोस्