रञ्जित तामाङले सार्वजनिक गरे ‘झापा–५ भिजन–७’



झापा–५ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार रञ्जित तामाङले आफ्‌नो घोषणापत्रको रुपमा ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन् । दमकमा आइतबार आयोजित कार्यक्रममा तामाङले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भिजन पेपर सार्वजनिक गरेका हुन् । झापा–५ का लागि ७ वटा प्रमुख भिजनअन्तर्गत ३५ मिसन र २१ लक्ष्य तय गरिएको उक्त पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिक भिजनका रूपमा अघि सारिएको छ ।

शिक्षा क्षेत्रमा तामाङले यस क्षेत्रमा रहेका ८७ वटा सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने दाबी गरेका छन् । साथै, दमक बहुमुखी क्याम्पसलाई प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा विश्वविद्यालयमा रूपान्तरण गर्ने योजना पनि समेटिएको छ । गौरादह र गौरीगन्ज बहुमुखी क्याम्पस तथा गौरादह कृषि क्याम्पसलाई समयअनुसार परिष्कृत गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउने पनि भिजनमा भनिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ सुविधा सम्पन्न अस्पताल निर्माण गरी अत्याधुनिक उपचार प्रविधि भित्र्याउने प्रतिबद्धता जनाइएको छ । कृषि, उद्योग र व्यवसाय क्षेत्रमा युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, सहकारीलाई प्रोत्साहन गर्ने र औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजीको संरक्षण तथा प्रवद्र्धन गर्ने नीति अघि सारिएको छ ।

भौतिक पूर्वाधारतर्फ १८ तले बिजनेस कम्प्लेक्स सन्चालन, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणका लागि अध्ययन, औद्योगिक ग्राम स्थापना लगायतका महत्वाकाँक्षी मिसन समेटिएका छन् ।

भिजन पेपरअनुसार आगामी पाँच वर्षभित्र १७० वटा गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि निर्वाचन क्षेत्रका २९ वडामा हरेक वर्ष २९ आयोजना सञ्चालन गरिने, चारवटा स्थानीय तहमा हरेक वर्ष चार–चार आयोजना र क्षेत्रीय स्तरमा प्रत्येक वर्ष एउटा आयोजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार