‘हियाका कुडा’ लिएर आए कमल संघर्ष



काठमाडौँ ।

गजलकार कमल संघर्ष तेस्रो गजल संग्रहको रूपमा ‘हियाका कुडा’ लिएर आएका छन् । संघर्षको खस नेपाली भाषामा रहेको उक्त संग्रहको काठमाडौँमा भव्य समारोहबीच शनिबार विमोचन भएको छ । संघर्षको उक्त संग्रह खस नेपाली भाषाको पहिलो गजल संग्रह भएको बताइएको छ । यसअघि उनका ‘सडक’ र ‘खुडी’ गजलसंग्रह प्रकाशित भइसकेका छन् ।

विमोचन कार्यक्रममा ‘हियाका कुडा’माथि विवेक ओझा, साहित्यकार तथा संस्कृतिप्रेमी पूर्ण रावल तथा गजलकार–गीतकार शीतल कादम्बिनीले गहन समालोचनात्मक धारणा प्रस्तुत गरेका थिए । वक्ताहरूले कृतिमा प्रयोग भएको भाषिक सौन्दर्य, मौलिक भावभूमि र समसामयिक चेतनालाई विशेष रूपमा प्रशंसा गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले ‘हियाका कुडा’ खस भाषाको आत्मा बोकेको कृति भएको बताए । यस संग्रहमा सुदूर कर्नालीको जनजीवन, त्यहाँको मौलिक संस्कार–संस्कृति, प्रेम र पीडा, विद्रोह र सामाजिक जागरणका स्वरहरू जीवन्त रूपमा अभिव्यक्त भएका उनीहरूको भनाइ छ । माटोको सुगन्ध, भेगको यथार्थ र समयको संवेदना समेटिएका गजलहरूले पाठकलाई आफ्नै परिवेशसँग पुनः साक्षात्कार गराउने वक्ताहरूले बताए ।

प्रेमका कोमल अनुभूति मात्र होइन, समाज परिवर्तनको चेत र आत्मसम्मानको स्वरसमेत गजलमार्फत प्रभावकारी रूपमा उजागर गरिएको उनीहरूको भनाइ छ । विमोचन समारोहमा गजलकार कमल संघर्षका खस गजलहरूले उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए । गजलप्रेमीहरूको बाक्लो उपस्थितिले मेहफिललाई अझ जीवन्त र उत्साहपूर्ण बनाएको थियो ।

कार्यक्रममा ४ वर्षीय अग्रिम भण्डारीले ‘हियाका कुडा’भित्र समावेश शीर्ष गजल वाचन गर्दै विशेष आकर्षण थपेका थिए, जसले समारोहलाई थप भावुक र स्मरणीय बनाएको सहभागीहरूको भनाइ छ । कार्यक्रम शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कवि न्याथन रायन, गजलकार लक्ष्मण संगम, महेश जैसी तथा सामाजिक अभियन्ता मदन बुढाले पनि संग्रहबाट गजल वाचन गरेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार