उनी विगत ९ वर्षदेखि कपिलवस्तुदेखि कोहलपुर आएर ठेलामा दुनोट क्रिम बिक्री वितरण गर्दै आइरहेका छन् । उनी लामो सयमदेखि दुनोट क्रिम ठेलामा राखेर कोहलपुरका गल्ली र बजारमा बिक्री गर्ने भएका कारण उनलाई अहिले उनको नामले भन्दा कामले धेरैले चिन्ने गर्छन् । त्यसैले उनलाई अहिले धेरैले ‘क्रिम बाजे’ भनेर चिन्ने गरेको उनी बताउँछन् ।
गणेश रावत । कोहलपुर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ का केशवराज घिमिरे कोहलपुर बजारमा ठेलामा दुनोट क्रिम बिक्री वितरण गर्ने काम गर्छन् । उनी विगत ९ वर्षदेखि कपिलवस्तुदेखि कोहलपुर आएर ठेलामा दुनोट क्रिम बिक्री वितरण गर्दै आइरहेका छन् । उनी लामो सयमदेखि दुनोट क्रिम ठेलामा राखेर कोहलपुरका गल्ली र बजारमा बिक्री गर्ने भएका कारण उनलाई अहिले उनको नामले भन्दा कामले धेरैले चिन्ने गर्छन् । त्यसैले उनलाई अहिले धेरैले ‘क्रिम बाजे’ भनेर चिन्ने गरेको उनी बताउँछन् ।
कोहलपुरका प्रायः मुख्य चोक, बजार र गल्लीहरूमा सधैँ ठेलामा दुनोट क्रिमहरू बिक्री वितरण गरिहेको अवस्था उनी भेटिने गर्छन् । उनले दुनोट क्रिमलाई नै आफ्नो जीविकोपार्जन गर्ने मुख्य माध्यमका रूपमा लिएका छन् । कोहलपुरमा बसेर विगत ९ वर्षदेखि ठेला चलाएर नै दैनिकी बिताइरहेको उनले मिसन टुडेलाई बताए । बिहान सबेरै ६ बजेदेखि साँझ अबेर साढे ७ बजेसम्म दुनोट क्रिमको ठेला चलाएर दैनिकी बित्ने गरेको उनी बताउँछन् ।
‘म बिहान ६ बजेदेखि ठेला चलाएर पसलहरूमा दुनोट बिक्री गर्न जाने गर्छु । पसलहरूमा दुनोट बिक्री गर्दै ११ बज्छ,’ उनले भने, ‘कोठामा खाना खाँदा, आराम गर्दै गर्दा केही घण्टा समय बित्छ । पुनः१ बजे ठेला लिएर बजारमा दुनोट क्रिम बिक्रीका लागि निस्कने गर्छु । मेरो दैनिकी यसरी नै बित्ने गरेको छ ।’ दुनोट क्रिम व्यापारले आफ्नो जीविकोपार्जन हुनुका साथै आत्मसन्तुष्टि मिलेको उनी बताउँछन् । ६३ वर्षीय घिमिरे कोहलपुरका एक परिचित दुनोट क्रिम व्यापारी हुन् ।
उनले ९ वर्षको अवधिमा कोहलपुरमा आफ्नो राम्रो व्यापारको बजार बनाएका छन् । त्यसैले उनलाई दैनिक ४ हजारसम्मको दुनोट क्रिम बिक्री गर्न कुनै समस्या नहुने उनी बताउँछन् । सुरुवाती दिनहरूमा कोहलपुर आउँदाको समय सम्झँदै उनले कोहलपुर त्यतिखेर बजार खुला र तीनवटा मात्रै ठेलाहरू रहेको सुनाए । तीनवटा मात्रै ठेला रहेकाले पनि २०७३ सालमा कोहलपुर आउँदा सुरुवाती दिनहरूमा दुनोटले बजार राम्रो पाएको उनको भनाइ छ ।
पहिला बजार खुला रहेको बताउँदै उनले बरु अहिले क्रिमको बजार खुम्चिएको जानकारी दिए । बजार बाक्लिए पनि ठेलाहरू पनि थपिएकाले दुनोट बिक्री पहिलेको जस्तो नरहेको उनको भनाइ छ । कोठा भाडा र खानपिन गरेर सबै कटाउँदा राम्रो बचत हुने उनको भनाइ छ । आर्थिक रूपमा पनि राम्रो र स्वास्थ्यलाई समेत राम्रो भएकाले दुनोट व्यापारबाट आफूलाई सन्तुष्टि मिलिरहेको उनले बताए ।
१९ वर्षसम्म युवा अवस्थामा भारतमा होटलदेखि भारी बोक्नेसम्मका धेरै कामहरू गरेको उनी बताउँछन् । धेरै कामहरू गरे पनि अन्तिममा ठेला व्यापार नै आफ्नो लागि राम्रो भएकाले अहिले ठेला व्यापार गरिहेको उनले बताए । जीवनमा धेरै दुःख र संघर्षका बाबजुद बुढेसकालमा आफ्नै स्वदेशमा दुनोट बिक्री गरेर भए पनि परिवारको जीवनयापन चलाउन सफल भएको भन्दै खुसी व्यक्त गरे ।
‘जीवनमा धेरै कामहरूमा हात हालेँ । तर सफलता पाउन सकिएन,’ उनले भने, ‘युवा अवस्थाको होस् र जोश प्रदेशमा खेर गयो । अहिले अन्तिममा दुनोट क्रिम व्यापारबाट सफलता मिल्यो । त्यसैले असफलता हुँदैमा हार खाएर कर्म गर्न छाड्नु हुन्न । कर्म गरे एकदिन अवस्य पनि सफल भइने रहेछ ।’ ‘हिम शंकर बेकरी उद्योग’ नामक दुनोट क्रिम ठेलाले परिवारको साँझ बिहानको छाक टारिहरेको उनी बताउँछन् ।
महिनाभर ठेला चलाए पनि महिनाको एकदिन परिवार भेट्न कोहलपुरदेखि घरसम्म पुग्ने गरेको उनले बताए । अन्य समयको तुलनामा फागुनदेखि वैशाख महिनासम्म दुनोट क्रिम राम्रो बिक्री हुनेगरेको उनको भनाइ छ । दिनभर ठेलामा दुनोट क्रिम बिक्री गरे पनि बिहान पाउरोटी, क्रिम रोल र खास्ता पसलहरूमा बिक्री वितरण गर्ने गरेको उनले जानकारी दिए । उमेरका हिसाबले पनि पहिले जसरी ठेलालाई धकेल्न र बजार घुम्न सहज भने नरहेको उनले बताए ।
ठेला धकेल्दै र बेलाबखत पाइडिल मार्दै बजार परिक्रमा गरेर दुनोट बिक्री गर्दै जसोतसो जीवनयापान गर्दै आइएको उनको भनाइ छ । ७ जनाको परिवार पाल्न र आफूले सोचेजस्तो गरेर हिँड्न ठेलाले धेरै मद्दत गरेको उनले बताए । सबैको माया र सहयोगले दुनोट राम्रो बिक्री भइरहेकाले जीवन नै यसैमा समर्पित गरेको उनी बताउँछन् । स्वास्थ्यले साथ दिएसम्म र भ्याएसम्म ठेला व्यापार नछाड्ने उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्