काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सराहनीय भएको बताए । उनले नेपाल प्रहरीले विभिन्न कालखण्डमा सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र प्रशासनिक सुधारका हरेक चरणमा प्रतिष्ठानले समयानुकूल दक्ष, सक्षम, गुणस्तरीय तथा अनुशासित जनशक्ति उत्पादनमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको आधारशीला भनेकै अनुशासन र तालिम रहेको र त्यो आधारशिलालाई मजबुत बनाउन प्रतिष्ठानले विगत सात दशकदेखि दिँदै आएको योगदान स्मरणीय रहेको बताए । उनले बदलिँदो सुरक्षा चुनौती, प्रविधिको तीव्र विकासलगायतमा आएको परिवर्तन र अपराधका नयाँ–नयाँ स्वरूपलाई मध्यनजर गर्दै प्रतिष्ठानले तालिम प्रणाली र तालिम प्रदान गर्ने शैलीमा गर्दै आएको समय सापेक्ष परिमार्जनको प्रयास सराहनीय रहेको बताए ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी तालिमको प्रभावकारिता अभिवृद्धिसँगै प्रहरी सेवाप्रति जनविश्वास बढाउन पनि गुणस्तरीय तालिम अपरिहार्य रहेको उल्लेख गर्दै अनुशासन र सेवाभावलाई प्रहरीको उदाहरणीय पहिचान बनाउनेकार्यमा प्रतिष्ठानको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्