काठमाडौँ । प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुईदिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ । प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक सम्मेलन सोमबार सम्पन्न भएको हो । दुईदिने सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वय, अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधारः नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरणको विषयमा गहन छलफल भएको थियो ।

यस्तै, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, सञ्चार र कृत्रिम बुद्धिमत्ता, विपद् व्यवस्थापनमा प्रथम उद्धारका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवद्र्धनमा प्रहरी भूमिकालगायत विषयमा सहभागी र विषय विज्ञबीच बृहत् रूपमा छलफल एवं अन्तरक्रिया भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सम्मेलनमा नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीको समग्र मूल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयनयोग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गरिएको थियो ।
सम्मेलनको समापनसत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनमा सहभागीको व्यावसायिक एवं व्यावहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गरे । उनले प्रविधिका माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखापरेका नवीनतम चुनौती समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्न नागरिकको रचनात्मक सहयोगको निरन्तर आवश्यकता रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्