कैलालीमा आजदेखि एचपिभी खोप अभियान



कैलाली ।

महिलामा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्न लक्षित विद्यालय केन्द्रित एचपिभी खोप सेवा कैलाली जिल्लामा आजदेखि सुरु गरिने भएको छ । नियमित खोप कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको उक्त अभियानलाई प्रभावकारी बनाउन सबै स्थानीय तहमा जनशक्ति परिचालन, खोपहरू खोप केन्द्रमा पुगाइएको छ ।

स्वास्थ्य कार्यालय कैलालीले यस वर्ष निर्वाचनका कारण खोप अभियानको समयतालिका परिवर्तन गरिएको जनाएको छ । यसअघि फागुन २१ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यस वर्ष माघमै अभियान सुरु गरिएको हो । खोप अभियान फागुनसम्म सञ्चालन हुने छ ।
एचपिभी खोप मुख्यतया कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई लगाइने छ ।

स्वास्थ्य कार्यालयले कर्मचारी सूर्य विष्टका अनुसार यस वर्ष दश हजार तीन सय ८५ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ । जसमा विद्यालय बाहिर रहेका एक सय ७६ जना बालबालिकालाई समेत खोजी गरी खोपमा समावेश गरिनेछ । यस्तै, गत वर्ष कुनै कारणले खोप छुट भएका ११–१४ वर्ष उमेर समूहका ९९ जना किशोरीहरूलाई पनि यस पटक समेटिने योजना बनाइएको छ ।

जिल्लाभर खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न ३८५ सामुदायिक र २८१ संस्थागत विद्यालय छनोट गरिएका छन् । यी विद्यालयमार्फत ४२९ वटा खोप केन्द्र स्थापना गरिनेछ । अभियानलाई सफल बनाउन ३८८ जना स्वास्थ्यकर्मी र ३८८ जना स्वयंसेवक खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा ४७ हजार ६ सय ५५ जनाले विभिन्न खोप सेवा लिएका थिए । यस वर्ष उक्त सङ्ख्यालाई अझ बढाएर शतप्रतिशत लक्ष्य हासिल गर्ने उद्देश्य रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार