सुदूरपश्चिम प्रदेशसभामा नेकपा बन्यो ठूलो दल



कैलाली ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दल मर्जको निर्णय सुदूरपश्चिम प्रदेशसभा सचिवालयलाई पठाएको छ । साविक माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यको बैठकले दल मर्जको निर्णय सचिवालयलाई पठाएको हो । यस्तै, बैठकले पार्टीको संसदीय दलको नेतामा खगराज भट्टलाई चयन गरेको छ । भट्ट यसअघि माओवादी केन्द्रका संसदीय दलका नेता थिए ।

दल नेता भट्टका अनुसार बैठकमा साविक तीन वटै दलका १५ जना प्रदेशसभा सदस्य थिए । ‘निर्वाचनका कारण केही साथीहरू बैठकमा सहभागी हुन पाउन भएको थिएन,’ दल नेता भट्टले भने, ‘उहाँहरूले दुवै निर्णयमा आफ्नो सहमति छ भन्नुभएको छ ।’ यस्तै, भट्टलाई नेता चयन गरेपछि लगत्तै बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन् । तीन दलबीच एकता भएसंगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा ठूलो दल बनेको छ । साविकको माओवादी केन्द्रका सभामुखसहित ११, एकीकृत समाजवादीका तीन (एक जना निलम्बनबाहेक) र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य थिए । तीनै दलबीच एकता भएपछि २१ प्रदेशसभा सदस्य पुगेसँगै नेकपा पहिलो दल बनेको हो ।

चार जना प्रदेशसभा सदस्य रहेको तत्कालीन एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीको पद भने निलम्बनमा रहेको छ । नेकपा पहिलो दल बनेसँगै नेपाली काँग्रेस दोस्रोमा झरेको छ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशसभामा १८ जना सांसद रहेका छन् । एमालेका ११ जना सांसद रहेका छन् भने प्रदेशसभामा एकजना राप्रपाका सांसद छन् । स्वतन्त्र सांसद तारा जोशी भने राजीनामा दिएर डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्दैछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार