प्रतिनिधिसभा निर्वाचन २०८२ः ठूला दललाई बाँकेमा रास्वपा भारी



तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाँकेमा नयाँ दलहरूको प्रभावले आगामी निर्वाचनको प्रतिस्पर्धालाई रोचक बनाएको छ । तीनवटै निर्वाचन क्षेत्रमा पुराना राजनीतिक दलहरूको मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिएको छ । अघिल्लो निर्वाचनमा पहिलोपटक भाग लिएर सम्मानजनक भोट पाएको रास्वपा यसपटक भने मुख्य प्रतिस्पर्धीको रूपमा देखिएको हो ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाँकेमा नयाँ दलहरूको प्रभावले आगामी निर्वाचनको प्रतिस्पर्धालाई रोचक बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि बाँकेमा स्वतन्त्रसहित २० राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसपटकको चुनावमा मतदातामाझ नयाँ राजनीतिक दलहरूको बढ्दो प्रभावले प्रतिस्पर्धालाई बहुपक्षीय बनाउने संकेत गरेको छ । जिल्लाका तीनवटै क्षेत्रमा पुराना दल र नवगठित दलका उम्मेदवार छन् ।

बाँकेमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलका उम्मेदवार छन् । गत निर्वाचनमा भाग लिएको स्वतन्त्र पार्टीसहित नयाँ दलहरू उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार चुनावी मैदानमा छन् । बाँकेका तीनवटा निर्वाचनमा जम्मा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन् । बाँके १ मा १४, बाँके २ मा २० र बाँके ३ मा २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा पुराना राजनीतिक दलहरूको मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिएको छ । अघिल्लो निर्वाचनमा पहिलोपटक भाग लिएर सम्मानजनक भोट पाएको रास्वपा यसपटक भने मुख्य प्रतिस्पर्धीको रूपमा देखिएको हो ।यसपटक नेकपा एमालेबाट बाँके १ मा सूर्यप्रसाद ढकाल, बाँके २ मा मोहम्मद इस्तियाक राई, बाँके ३ मा सुमन मल्ल उम्मेदवार छन् । नेपाली काँग्रेसले बाँके १ मा जिल्ला सभापति नारायणप्रसाद गौडेल, २ मा जिल्ला सचिव सुधान्सु कोइराला र ३ मा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीबाट बाँके १ मा नरेन्द्र पाण्डे (जेम्स), २ मा दीपेन्द्र विष्ट र ३ मा दीपक जिएम उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके १ मा प्रदीपकुमार शाह, २ मा ऋषिराम देवकोटा र ३ मा तारकसिंह थारूलाई उम्मेदवार बनाएको छ । जनता समाजवादी पार्टी नेपालबाट बाँके १ मा राजेन्द्रकुमार विश्वकर्मा, २ मा कमरुद्दिन राई र ३ मा सूर्यलाल यादव उम्मेदवार छन् । नयाँ दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाँके १ मा सुरेशकुमार चौधरी, २ मा विवेककुमार श्रेष्ठ र ३ मा खगेन्द्र सुनार चुनावी मैदानमा छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके १ मा कृष्णा केसी (नमुना), २ मा माजिद अलि शेष र ३ मा तेजप्रसाद भण्डारी छन् । श्रम संस्कृति पार्टीबाट बाँके १ मा भरतनिधी तिवारी, २ मा रामचरण चौधरी र ३ मा ओमकार थापा मगर रहेका छन् । २०७९ सालको निर्वाचनमा बाँके १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल, बाँके २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा.धवलशम्शेर राणा र बाँके ३ मा नेपाली काँग्रेसका किशोरसिंह राठौर निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा अघिल्लो पटकको निर्वाचन जितेका ढकाल बाँके १ मा दोहोरिएका छन् ।

राणा यसपटक चुनाव नै लडेनन् । राठौर भने बर्दिया २ बाट उम्मेदवार बनेका छन् । अघिल्लो चुनावमा नेकपा एमालेका ढकालले २५ हजार २३ मतका साथ विजयी हुँदा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनका महेश्वर गहतराज १९ हजार ६३२ मत ल्याएर पराजित भएका थिए । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशमशेर राणा विजयी भएका थिए ।

एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका थिए । बाँके ३ मा नेपाली काँग्रेसका उम्मेदवार किशोरसिंह राठौर २९ हजार ९७ मतसहित विजयी हुँदा नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार ३०५ मत ल्याएका थिए ।

बाँके १ मा पाँच जनाबीच मुख्य प्रतिस्पर्धा

बाँके १ मा २०७४ मा तत्कालीन नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज र २०७९ को निर्वाचनमा नेकपा एमालेका सूर्यप्रसाद ढकालले जितेका थिए । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका ढकाल दोस्रो जितको खोजीमा हुनेछन् । गठबन्धनका कारण अघिल्लो निर्वाचनमा आफ्नै उम्मेदवार उठाउन नपाएको नेपाली काँग्रेसले जिल्ला सभापति नारायणप्रसाद गौडेललाई उम्मेदवार बनाएको छ ।

पौडेल २०७४ को निर्वाचनमा प्रदेश सभा १ (२)मा बाम गठबन्धनकी आरती पौडेलसँग पराजित भएका थिए । उनको प्रमुख लक्ष्य नेपाली काँग्रेसको विरासत जोगाउने हुनेछ । २०७४ मा नेकपा एमालेसँग गठबन्धन गरेर जितेको र २०७९ मा नेपाली काँग्रेससँगको गठबन्धन हुँदा पनि चुनाव हारेको तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स)लाई आफ्नो गुमेको साख फर्काउने चुनौती छ ।

अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेका सुरेशकुमार चौधरी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार छन् ।
बाँके १ मा पुराना दलहरूसँगको मुख्य प्रतिस्पर्धीका रूपमा चौधरीलाई हेरिएको छ । अघिल्लो चुनावमा सुरेशकुमार चौधरीले ११ हजार ४६५ र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका थिए । यसपटक उनी रास्वपाबाट उम्मेदवार छन् । यसपटकको चुनावमा उनले पुराना दललाई प्रमुख चुनौती दिनेछन् ।

यस्तै बाँके १ मा पुराना दललाई चुनौती दिने उम्मेदवारका रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टीर्की उम्मेदवार कृष्णा केसी (नमुना)लाई हेरिएको छ । तत्कालीन नेकपा माओवादी त्यागेर नयाँ गठित प्रलोपा रोजेकी केसी प्रदेशसभामा लगातार दोस्रोपटक जितेकी नेतृ हुन् । केसी प्रदेशसभा १ (२) मा २०७४ र २०७९ को निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

बाँके २ मा विरासतको लडाइँ

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मोहम्मद इस्तियाक राईले २१ हजार ५७५ मत ल्याउँदै विजयी हुँदा नेकपा एमालेका पशुपतिदयाल मिश्र १५ हजार ९५१ मत ल्याउँदै दोस्रो र राप्रपाका ओमप्रकाश आजाद ११ हजार ६५१ मत ल्याएर तेस्रो भएका थिए ।
२०७९ राप्रपाका महामन्त्री डा धवलशमशेर राणा विजयी भएका थिए ।

एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका थिए । नेपाली काँग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत ल्याएका थिए । राई यसपटक नेकपा एमालेका उम्मेदवार बनेका छन् ।

नेपाली काँग्रेसले जिल्ला सचिवसमेत रहेका सुधान्सु कोइरालालाई उम्मेदवार बनाएको छ । सुधान्सु पूर्वपार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भाइका छोरा हुन् । सुधान्सुका बुवा स्वर्गीय डा. अरूण कोइराला र आमा किरण कोइराला काँग्रेस बाँकेका पूर्वसभापति हुन् । सुधान्सु पहिलोपटक चुनाव लड्न लागेका नेता हुन् । उनलाई कोइराला परिवार र नेपाली काँग्रेसको विरासत फर्काउने चुनौती छ ।

त्यहाँ नेकपाले युवा दीपेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ । नेपालगन्जको उपप्रमुख पद त्यागेर जसपाबाट कमरुद्दिन राई उम्मेदवार बनेका छन् । विष्ट र राईले नेकपा एमालेका राई र नेपाली काँग्रेसका कोइरालालाई चुनौती दिनेछन् । त्यहाँ पुराना दललाई चुनौती दिन सक्ने उम्मेदवार हुन् रास्वपाका विवेककुमार श्रेष्ठ । उद्यमी र अभियन्ता श्रेष्ठलाई देशव्यापीरूपमा रास्वपाप्रति देखिएको लहरको फाइदा हुने देखिन्छ । अघिल्लो चुनावमा रास्वपाका विनोदकुमार अग्रहरीले प्रत्यक्षतर्फ १ हजार ३३३ मत पाएका थिए । अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा मुख्य प्रतिस्पर्धामा नदेखिए पनि श्रेष्ठले यसपटक राम्रो भोट ल्याउन सक्छन् ।

काँग्रेस एमालेलाई भारी पर्न सक्छ रास्वपा 

२०७४ को निर्वाचनमा बाँके ३ मा नेकपा एमालेका नन्दलाल रोका क्षेत्री ३१ हजार ६०१ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत ल्याएका थिए । २०७९ मा भने नेपाली काँग्रेसका किशोरसिंह राठौर २९ हजार ९७ मतसहित विजयी हुँदा नेकपा एमालेका किस्मतकुमार कक्षपति २४ हजार ३०५ मत ल्याएका थिए ।

उक्त चुनावमा रास्वपा प्रत्यक्षतर्फ तेस्रो दल बनेको थियो । रास्वपाका देवेन्द्रनाथ शुक्लाले ७ हजार ४६७ मत प्राप्त गरेका थिए । यसपटक अघिल्लो निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षमा पराजित भएका सुमन मल्ललाई नेकपा एमाले उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसका लुम्बिनी सभापतिसमेत रहेका रोल्पा घर भएका अमरसिंह पुन बाँके ३ मा उम्मेदवार बन्न आइपुगेका छन् । रास्वपा केन्द्रीय सदस्य खगेन्द्र सुनारसँग मल्ल र पुनको मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् ।

अघिल्लो चुनावमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट नोयन्द्र धितालले ४ हजार २८७ मत र जनमत पार्टीका राजुप्रसाद कुर्मीले २ हजार ५२० मत प्राप्त गरेका थिए । यी दलले पुरानै मत जोगाउँदा मात्रै पनि यसपटकको अंक गणितमा प्रभाव पार्न सक्नेछ । सामाजिक अभियान्ताको छवि बनाएका सुनार र उनीआबद्ध दलप्रतिको आकर्षणले बाँके ३ मा चुनावी प्रतिस्पर्धा रोचक बनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार