कोहलपुर ।
आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार नेपाल र इंग्ल्यान्डकोे खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु भएको थियो । तर, नेपाली क्रिकेट समर्थकहरू भने बिहान ११ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियम पुगिसेका थिए । त्यसो त नेपाली क्रिकेट समर्थकको विश्व क्रिकेटमा चर्चा हुने गर्छ । नेपालले हार्दा होस् या विजयी हुँदा नेपाली क्रिकेट समर्थकहरू साथमा रहने गर्छन् ।
पञ्चैबाजासहित शिरमा ढाका टोपी र रातो चन्द्रसूर्य अंकित झन्डाले आइतबार मुम्बईको वानखेडे क्रिकेट स्टेडियम भरिएको थियो । टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले नेपालाई पहिला बलिङको निम्तो दिएको थियो । बलिङको निम्तो पाएको नेपालले दोस्रो ओभरको पहिलो बलमा नै ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आउट गरेका थिए । उनी पहिलोपटक राष्ट्रिय टिम र विश्वकपमा डेब्यु गरेका हुन् ।
इंग्ल्यान्डका लागि ५७–३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए । बलिङतर्फ भने नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ बिकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १ बिकेट लिएका थिए । इंग्ल्यान्डका ब्याटरहरू नेपालका कुशल भुर्तेल र करण केसी महंगो पर्न गए ।
कुशल भुर्तेलले आफ्नो स्पेलमा सर्वाधिक ४० रन खर्चे भने करण केसीले ३ ओभरमा ३५ रन खर्चेका थिए । जसका कारण नेपालले अन्तिम ओभरमा २१ रन खाएको थियो । इंग्ल्यान्डका विल ज्याक्सले १८ बलमा १ चौका र ४ छक्कासहित ३९ रन बनाएर अविजित रहे । जोफ्रा आर्चर १ रन बनाउँदा करण केसीको बलमा रनआउट हुन पुगे ।
नेपालविरुद्ध आक्रामक सुरुवात गरेको इंग्ल्यान्डले पावरप्लेमा २ बिकेट गुमाएर ५७ रन बनाएको थियो । इंग्ल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ बिकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । १ सय ८५ रनको लक्ष्य पाएको नेपालले सुरुवात भने राम्रो गरेको थियो । कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगत्तै छैटौँ ओभरमा कुशल भुर्तेललाई पनि गुमायो । भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २९ रन जोडेका थिए । दुवै ओपनर आउट हुँदा नेपाल ४२–२ को स्थितिमा थियो । त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो बिकेटका लागि ८२ रनको राम्रो साझेदारी गरे । रोहित र दिपेन्द्रको साझेदारीले इंग्लयाण्डलाई दबाबमा राखेको थियो ।
तर १५औँ ओभरमा दीपेन्द्रलाई साम करनले आउट गरेपछि नेपालले तेस्रो बिकेट गुमायो । नेपालक लागि टी२०आईमा २ हजार रनर पूरा गर्ने पहिलो खेलाडी बनेका दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन बनाए । उनले ४४ रन बनाएपछि टी२०आईमा १ हजार रन पूरा भएको हो ।
लगत्तै कप्तान रोहित पनि ३९ रन बनाएर आउट भए । ३४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेखले ८ बलमा १० रन बनाए । १७.२ ओभरमा पुनः नेपालले आरिफ शेखलाई गुमायो । लगातार नेपालले बिकेट गुमाउँदा इंग्ल्यान्ड नेपालमाथि हावी हुन पुग्यो । तर, लोकेश बमले भने नेपालको आशालाई मर्न दिएनन् । उनको आक्रामक ब्याटिङले नेपाल जित नजिक पुगेको थियो ।
अन्तिम ओभरमा १० रन चाहिँदा ब्याटर लोकेश बम क्रिजमा रहे पनि जित निकाल्न भने सकेनन् । उनले अविजित २० बलमा ३९ रन बनाए । उनको ब्याटिङले वानखेडे क्रिकेट स्टेडियम जुरुक्क उठेको थियो । तर, अन्तिममा नेपालले ४ बिकेटको हार ब्यहोर्दा नेपाली क्रिकेट समर्थकहरू निराश भएर घर फर्किए । बलिङमा इंग्ल्यान्डका लागि लियम डसनले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ बिकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।
यस्तै आइतबार भएको टी–२० विश्वकपअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ बिकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । अफगानिस्तानविरुद्धको हाइस्कोरिङ खेलमा न्युजिल्यान्डले १ सय ८३ रनको लक्ष्य १३ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा ग¥यो । न्युजिल्यान्डले यो टी–२० विश्वकपमा चेज गरेको यो सर्वाधिक ठूलो स्कोर हो । न्युजिल्यान्डको जितमा ओपनर टिम सेफर्टले ६५ रन बनाउँदा ग्लेन फ्लिप्सले ४२ रन तथा मार्क च्याम्पमानले २८ रन बनाए ।
त्यस्तै, ड्यारी मिचेल २५ तथा कप्तान मिचेल स्यान्टनरले १७ रनको अविजित इनिङ्स खेले । त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसका लागि गुलबादिन नाइबले ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा रमनुल्लाह गुर्वाजले २७ तथा सदिकुल्लाह अटलले २९ रन बनाएका थिए । त्यस्तै, डर्विस रासोइलले २० तथा अजमतुल्लाह ओमरजाइले १४ र मोहम्मद नाबीले १० रनको अविजित इनिङ्स खेलेका थिए ।









प्रतिक्रिया दिनुहोस्