संसदीय निर्वाचन र वैकल्पिक शक्ति



नयाँ खुलेका र पुराना भनिने कतिपय दलहरूले आफूलाई वैकल्पिक राजनीतिक शक्तिको दावा गरेको देखिन्छ । परम्परागत संसदीय व्यवस्थालाई अङ्गालो पनि मार्ने र त्यस व्यवस्थामार्फत जनविरोधी काम पनि गर्दै रहने अनि वैकल्पिक राजनीतिक शक्ति पनि भन्ने । वैकल्पिक शक्ति हुनलाई त यो चलिआएको संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्थाको खाका पेश गरिनु पर्दछ । संसदीय राजनीतिको आहालमा पनि डुब्ने, विश्व पूँजीवादलाई पनि समर्थन गर्ने, लुट र शोषणलाई निरन्तरता दिने र पार्टीमा हुनेखाने वर्गको हालीमुहाली कायम राख्ने, मजदुर र किसानको बारेमा कुनै चासो नराख्ने र किसान र मजदुर मर्कामा पर्दा पनि कुनै न्याय दिन नसक्ने दलहरू कसरी वैकल्पिक शक्ति हुन सक्छन् ?

चिन्तामणि घिमिरे

२०८२ साल फागुन २१ गते प्रतितिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचन हुन गइरहेको छ । करिब साठीभन्दा बढी दलहरू चुनावी मैदानमा उत्रिएका छन् । नयाँ र पुराना दुवैखाले दलहरूले नानाथरीका सपनाहरू जनताको बीचमा प्रचारप्रसार गरिरहेका छन् । नेपालमा धेरै चुनावहरू भए र ती चुनावहरूमा दलहरूले आफ्ना थरीथरीका रंगिन सपनाहरू जनतालाई सुनाउँदै आएका छन् । चुनावको बेला जनताका समस्याहरू समाधान गरिने बाचाहरू गरिन्छन् । ती बाचामै सीमित रहन्छन् तर कहिल्यै पूरा हुँदैनन् । दलहरू र उम्मेदवारहरूको बीचमा को जनताको सच्चा सेवक हो भन्ने होडबाजी चलिरहेको छ । मतदाताबाट उमेदवारहरूले मत आकर्षण गर्न र आफ्नो पक्षमा जीत सुनिश्चित गर्न जेजस्ता हर्कतहरू देखाएका छन्, ती बनावटी र नक्कली हुन् । दुई चार दिनको तामझाम देखाएर जनताको सच्चा सेवक ठहरिन खोज्ने जुन प्रवृति छ, त्यो अत्यन्तै हानिकारक छ । जनताको खेतबारीमा काम गरेकोजस्तो गर्ने, भाँडा माझ्न खोज्ने, खाना पकाइदिन खोज्ने र जनताको सच्चा सेवक यही नै हो भन्ने प्रकारको अभिनय गर्ने प्रकारका जुन क्रियाकलाप जुन उम्मेदवारले गरेका छन् त्यो एउटा प्रहसनबाहेक अरु केही होइन । जनताको पीरमर्का बुझ्न चुनावका बेला जनताको घरदैलोमा गएर मात्र हुँदैन । अरुबेला पनि जानुपर्छ । अरुबेला कानमा तेल हालेर सुत्ने, आफ्नो कामधन्दा चलाउने, चुनावका बेला मै हुँ जनताको असली सेवक भन्दै कुर्लिने, जनतालाई यसो काममा सघाएको जस्तो अभिनय गर्ने, यस्तो पाराले जनताको दुःखको आँसु पुछिदैन् । बरु त्यस्ता पात्रहरू मजाकको विषयवस्तु बन्दछन् ।

विगतमा राजनीतिलाई घृणा गर्ने र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई झोले भनेर खिसिट्युरि गर्ने जमात अहिले पार्टी खोलेर उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । राजनीतिप्रति वितृष्णा पैदा गर्न भूमिका खेल्ने पात्रहरू अहिले उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । पुरानो जोगीले भन्दा नयाँ जोगीले बढ्ता खरानी घस्छन् भने झैँ राजनीतिक पृष्ठभूमि नभइकन ह्वात्तै राजनीतिक दलमा हामफालेर उम्मेदवार बनेकाहरू नै चुनावी अभियानमा बढ्ता हौसियको देखिन्छ । अहिले राजनीतिक वैचारिक पृष्ठभूमि र जग नभएका र वैचारिक रूपले प्रष्ट नभएका व्यक्तिहरू जुन ढंगले उमेदवार बनेर चुनावी मैदानमा रस्साकसी गरिरहेका छन्, त्यस्ता पात्रहरूले चुनाव जितेर गएमा दुरुपयोग हुने खतरा रहन्छ । यो चुनावमा देशभक्त, जनतान्त्रिक, वामपन्थी र प्रगतिशील शक्ति र व्यक्तिहरूलाई जनताले मतदान गर्नुपर्ने हुन्छ । नयाँ खुलेका र पुराना भनिने कतिपय दलहरूले आफूलाई वैकल्पिक राजनीतिक शक्तिको दावा गरेको देखिन्छ । परम्परागत संसदीय व्यवस्थालाई अङ्गालो पनि मार्ने र त्यस व्यवस्थामार्फत जनविरोधी काम पनि गर्दै रहने अनि वैकल्पिक राजनीतिक शक्ति पनि भन्ने । वैकल्पिक शक्ति हुनलाई त यो चलिआएको संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्थाको खाका पेश गरिनु पर्दछ । संसदीय राजनीतिको आहालमा पनि डुब्ने, विश्व पूँजीवादलाई पनि समर्थन गर्ने, लुट र शोषणलाई निरन्तरता दिने र पार्टीमा हुनेखाने वर्गको हालीमुहाली कायम राख्ने, मजदुर र किसानको बारेमा कुनै चासो नराख्ने र किसान र मजदुर मर्कामा पर्दा पनि कुनै न्याय दिन नसक्ने दलहरू कसरी वैकल्पिक शक्ति हुन सक्छन् ?

अहिलेको चुनावी माहोलमा रास्वपा र बालेन शाहको बढी चर्चा चलेको छ । पार्टीद्वारा शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडी सारिएको छ । छँदाखाँदाको मेयर पद छाडेर उनी झापा पुगे पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीसँग सिँगौरी खेल्न । सिँगौरी खेलाइमा शाहले चुनावमा हार्छन् कि जित्छन् त्योबारे अहिल्यै अनुमान गर्नु मनासिब नहोला । यी दुई बीचको प्रतिस्पर्धालाई अत्यन्त महत्त्वको साथ हेरिएको देखिन्छ ।
बालेन जहाँ जान्छन् त्यहाँ युवाहरूको ओइरो लागेको देखिन्छ । रास्वपामा बालेनको प्रवेशले रवि लामिछाने ओझेलमा परेको देखिन्छ । रविको चर्चा हुन छाडेको छ । रवि छायाँमा परेका हुन वा पारिएका हुन् त्यसबारे तथ्य कुराहरू पछि खुल्दै जालान् । २०७९ सालको संसदीय निर्वाचनमा रविलाई चमत्कारिक नेताको रूपमा अगाडी सार्ने काम गरिएको थियो । नागरिकता प्रकरणमा उनको सांसद पदसमेत गुमेको थियोे । पछि उनले मुद्दा जिते र चितवनमा भएको उपनिर्वाचनमा उनले पुनः अत्यधिक मतका साथ सांसद पदमा विजयी भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा उनी गृहमन्त्री थिए । भुटानी शरणार्थी प्रकरणको फाइललाई अगाडी बढाउन खोज्दा सरकार पक्ष र प्रतिपक्षका कतिपय दलहरू आतंकित भए र त्यसपछि प्रचण्ड नेतृत्वको सरकार ढल्न पुग्यो ।

काँग्रेस र एमाले दुई ठूला दलको संयुक्त सरकार बन्यो । त्यसपछि रविलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा मुद्दा चल्यो र उनलाई कारागार चलान गरियो । युवा पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारको पहलमा रविलाई सफाइ दिने काम भयो र अहिले उनी चुनावी अभियानमा छन् । तर बालेनको तुलनामा उनी कम चर्चामा छन् । अहिले रास्वपा र बालेनप्रतिको जुन लहर देखिन्छ यो लहर टिकाउ देखिँदैन । यो बर्खाको भेलजस्तो हो । जो केही समयपछि सुक्छ । एकपटक लहर सबैको आउँछ, त्यसमा आश्चर्य मान्नु पर्दैन ।
नेपालको राजनीतिमा प्रायः चमत्कार नायकको खोजी भइरहेको पाइन्छ । त्यस्ता चमत्कार नायकहरू विस्तारै पछि गएर खलनायकमा रुपान्तरण भएका हुन्छन् । राजनीतिमा आउन चाहनेहरू प्रायः भाइरल र पपुलर हुन खोज्छन् । हाम्रो नेपाली समाजको चेतना पनि भाइरल र पपुलरका पछाडी कुद्ने देखिन्छ । रङ्गिचङ्गी र मनमोहक नारा र भाषणले देशको समस्या दीर्घकालीन रूपले हल हुँदैन । सहि विचारधारा र राजनीतिक कार्यदिशाले मात्र समस्यालाई हल गर्ने कुरामा बल पु¥याउँदछ । नेताहरू इमानदार भए मात्र देशले विकासको कोल्टे फेर्न सक्छ । नत्र यो वा त्यो बहानामा कराइको माछा कराइबाट उम्कन खोज्दा भुँग्रोमा परेजस्तो हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार