पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न



मुस्ताङ। मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको छ । नेपाल स्की सङ्घको आयोजनामा आज सम्पन्न अल्पाइन स्कीअन्तर्गत पुरुषतर्फको सिनियर स्की प्रतियोगितामा रसुवाका छेवाङ मिङ्गुर तामाङ र जुनियर अल्पाइन स्की प्रतियोगितातर्फ दोलखाका साम्देनगेल्बु शर्मा च्याम्पियन बनेका छन् ।
यसैगरी महिलातर्फको अल्पाइन स्की प्रतियोगिताअन्तर्गत नुवाकोटकी सङ्गीता लामा र महिला जुनियर अल्पाइन स्कीतर्फ काठमाडौँकी नैना शाक्य च्याम्पियन बनेकी नेपाल स्की सङ्घले जनाएको छ ।यसैगरी सिनियर अल्पाइन स्की प्रतियोगितामा काठमाडौँका समिप लामिछाने दोस्रो हुँदा दोलखाका पुण्डरिक पाण्डे तेस्रो भएका छन् । पुरुष जुनियर स्कीतर्फ भक्तपुरका अर्थसिंह बोहरा दोस्रो भए भने मुस्ताङका केसाङ गुरुङले तेस्रो भएका छन् ।
महिला अल्पाइन स्कीतर्फ काठमाडौँका आयुशी महर्जन दोस्रो हुँदा महिला जुनियर स्कीतर्फ महोत्तरीका मेन्काकुमारी आले दोस्रो भएकी छिन् । त्यस्तै  काठमाडौँकी आशिया तामाङ तेस्रो भएकी हुन् । प्रतियोगिताको पुरुष र महिला सिनियर÷जुनियर च्याम्पियन बनेका स्की खेलाडीले स्वर्ण पदक पाएका छन् । पुरुष र महिलातर्फ दोस्रो स्थान हासिल गरेका स्की खेलाडीले रजत र तेस्रो स्थान हासिल गरेका खेलाडीले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगिताअन्तर्गत पुरुष र महिलातर्फको सिनियर र जुनिएर विजेता खेलाडीले नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव विजय श्रेष्ठ र मुस्ताङ स्की सङ्घका अध्यक्ष सुरज गुरुङलगायत नेपाल स्की सङ्घका पदाधिकारी तथा सदस्यले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । पाँचौँ राष्ट्रिय स्की प्रतियोगितामा सहभागी खेलाडी तथा कोचलाई नेपाल स्की सङ्घले प्रमाणपत्र प्रदान गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार