जुम्लामा दुई वटा अस्थायी मतदान केन्द्र राख्न सिफारिस



जुम्ला ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्र राख्न निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा सिफारिस गरी जिल्लाबाट पठाएको छ ।

सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाको मैदान र जिल्लास्थित कारागारमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । निजामती कर्मचारी र नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मैदानमा अस्थायी मतदान केन्द्र कायम सिफारिस गरिएको छ ।

कारागारमा रहेका थुनुवा वा कैदीलाई कारागारको कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको हो । अस्थायी मतदाता नामावलीमा समावेश भएकाले समानुपातिकतर्फको निर्वाचनमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।

आगामी फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन गर्न अन्तिम समयसीमा आयोगले तोकेको छ ।हालसम्म ८९१ जनाले अस्थायी मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार