दुईवटा अस्थायी मतदान केन्द्र राख्न सिफारिस



जुम्ला ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा अस्थायी मतदाताका लागि दुईवटा मतदान केन्द्र राख्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार उक्त सिफारिस निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाइएको हो । जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयको मैदान र जिल्लास्थित कारागारमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मैदानमा अस्थायी मतदान केन्द्र कायम गर्न सिफारिस गरिएको छ । कारागारमा रहेका थुनुवा वा कैदीलाई कारागारको कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको हो ।

अस्थायी मतदाता नामावलीमा समावेश भएकाले समानुपातिकतर्फको निर्वाचनमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ । आगामी फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावली संकलन गर्न अन्तिम समयसीमा आयोगले तोकेको छ । हालसम्म ८९१ जनाले अस्थायी मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

५२ वटा मतदानस्थल अतिसंवेदनशील 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिए ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको यहाँ जिल्लाभरि ८५ वटा मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशील रूपमा वर्गीकरण गरिएको हो । १८ वटा मतदानस्थललाई संवेदनशील रूपमा राखिएका छन् । १५ वटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको प्रनाउ रेग्मीले बताए । जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना छन् । त्यसमध्ये महिला मतदाता ३४ हजार २८० र पुरुष मतदाता ३७ हजार ४५९ जना छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार