भेटवार्तामा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग निर्वाचन सुरक्षाबारे चासो राखेका थिए भने प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको र अब ढुक्क भएर निर्वाचनमा लाग्न अध्यक्ष ओलीलाई आग्रह गरेकी थिइन् ।
काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । बिहीबार बिहान करिब ४५ मिनेटसम्म उनले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । एमाले अध्यक्ष ओली नेता विष्णु रिमाललाई साथमा लिएर प्रधानमन्त्री कार्कीसँगको भेटवार्ताका लागि बालुवाटार पुगेका थिए ।
बालुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच भएको ४५ मिनेटको संवादमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी थिए । भेटमा अध्यक्ष ओलीले प्रधानमन्नी कार्कीसँग जेनजी आन्दोलनमा भएको घटना जाँचबुझका लागि गठन भएको आयोगको प्रगतिबारे चासो राखेका थिए । ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, निर्वाचन सुरक्षालगायत विषयमा समेत चासो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुराकानीका क्रममा ओलीले शुक्रबार झापा जान लागेको बताउँदै अशान्ति, आचारसंहिता उल्लंघन र बुथ कब्जा आफूबाट नहुने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘भोलि (शुक्रबार) म झापा जाँदै छु । एमाले ध्वंसमा विश्वास गर्दैन । शान्तिमा विश्वास गर्छ । एमाले कही पनि आचारसंहिताको उल्लंघन गर्दैन । झापामा मेरो क्षेत्र (झापा–५) मा अहिलेसम्म बुथ कब्जा भएको रेकर्ड पनि छैन ।
मेरो पक्षबाट शान्ति सुरक्षामा असर पर्ने गतिविधि हुँदैन । प्रधानमन्त्रीज्यू पनि ढुक्क हुनुहोस्,’ ओलीले भेटवार्ताका क्रममा भनेका थिए । ओलीले प्रधानमन्त्री कार्कीलाई चरण चरणमा चुनाव नहुने भन्दै एकै चरणमा सम्पन्न गर्न आग्रह गरेका थिए । उनले कुनै निर्वाचन क्षेत्रमा पुनः चुनाव गर्नुपर्ने अवस्था आएमा पनि तत्काल गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
‘चुनाव देशभर एकै चरणमा हुनुपर्छ । कतै चुनाव दोहो¥याएर गर्ने अवस्था आयो भने पनि लामो ग्याप राख्नु हुँदैन,’ ओलीको भनाइबारे स्रोतले भन्यो, ‘चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले सतर्कता अपनाओस् । चाँडो मतगणना गरेर परिणाम चाँडै सार्वजनिक गर्ने वातावरण निर्माण होस् ।’ अध्यक्ष ओलीले चुनावी सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका थिए ।
पूर्वप्रधानमन्त्री ओलीको चासो निर्वाचनमा सेनाको परिचालनबारे समेत रहेको थियो । ओलीको भनाइ उद्धृत गर्दै एमाले निकट स्रोतले भन्यो, ‘नागरिकको सुरक्षा हुनुपर्छ । मतदानस्थलको पनि सुरक्षामा कमी नहोस् । मलाई निर्वाचनमा धाँधली हुनसक्ने आशंका छ । नेपाली सेनालाई निर्वाचनको अग्रभागमा नराखियोस् । नेपाली सेना ब्याक फोर्समा रहोस् ।’
जवाफमा प्रधानमन्त्री कार्कीले कतैबाट पनि प्रश्न नउठ्ने गरी स्वतन्त्र, भयरहित, निष्पक्ष वातावरणमा चुनाव हुने बताएकी थिइन् । ‘शान्तिपूर्ण तरिकाले निर्वाचन गराउनका लागि तपाईँ हामी सबैको भूमिका हुन्छ । अहिलेसम्म तपार्इँहरू पनि जिम्मेवार ढंगले प्रस्तुत भइरहनु भएको छ,’ उनले भनिन्, ‘हामीहरू सन्तुष्ट छौँ । हामी शान्तिको लागि काम गरिराखेका छौँ । शान्ति कायम गर्न, शान्तिपूर्ण ढंगले रुपान्तरण गर्न र यो अध्यायलाई सही ढंगले विसौनीमा पु¥याएर नयाँ अध्यायको ढोका खोल्नका निम्ति तपाईँहरू पनि लाग्नुहोस् । यो हामी सबैको जिम्मेवारी हो ।’
प्रधानमन्त्री कार्कीले फागुन २१ मा सबै ठाउँको चुनाव गराउने बताएकी थिइन् । चुनावको बीचमा कुनै चाडपर्व वा सजिला, अप्ठ्यारा आए पनि धैर्यपूर्वक सबै मिलेर सामना गर्नुमा प्रधानमन्त्री र अध्यक्ष ओली सहमत रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतको भनाइ छ । ‘अप्रत्यासित रूपमा आइलागेको जिम्मेवारी हो । सबै मिलेर पूरा गरौँ । पात्र हेरेर निर्धारण गरिएको कुरा होइन । यो आपत्कालीन अवस्थामा हो । यसलाई आपत्कालीन रूपमै हेर्नुपर्छ, बुझ्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्