स्वच्छ र भयरहित निर्वाचन बनाउन साझा ऐक्यबद्धता



नन्दराम जैशी । सुर्खेत ।

जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आगामी चुनाव स्वच्छ र भयरहित बनाउने सरोकारवाला निकायले साझा ऐक्यबद्धता जनाएका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तक्र्रिया सहभागिहरूले यस्तो बताएका हुन् ।

सो अवसरमा बोल्दै जिल्ला अदालत सुर्खेतका न्यायाधीश एवंम् सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत दीपक ढकालले स्वच्छ र भयरहित निर्वाचन बनाउनु सबै निकाय र नागरिकहरूको साझा दायित्व रहेको बताए । ‘लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड नै निष्पक्ष निर्वाचन हो । कानुनी शासनको पालना सबै पक्षको दायित्व हुन्छ,’ उनले भने, ‘निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो नागरिकको अधिकार र जिम्मेवारी दुवै हो ।

निर्वाचन आचारसंहिता, कानुन र न्यायिक मर्यादाको पालना गरौँ ।’ न्यायाधीश ढकालले मतदाताको स्वतन्त्र निर्णयमा कुनै पनि प्रकारको दबाब, प्रलोभन वा अवरोध अस्वीकार्य हुने स्पष्ट पारे । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले शान्ति–सुरक्षा र व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउँदै निष्पक्ष वातावरण सिर्जना गर्नु प्रशासनको प्राथमिक दायित्व भएको बताए ।

‘निर्वाचन अवधिमा देखिने सम्भावित जोखिमलाई समयमै पहिचान गरी समन्वयात्मक ढंगले समाधान गर्ने तयारी प्रशासनले गरिरहेको छ,’ उनले भने, ‘निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन सबै निकायबीच सहकार्य अनिवार्य छ । सोहीअनुरुप सुरक्षा योजना बनाएर अघि बढेका छौँ ।’ मतदाता र उम्मेदवारहरूको सुरक्षामा कुनै कसर बाँकी नरहने भन्दै सुर्खेतमा निर्वाचनसम्बन्धी कुनै खतरा नरहेको उनले जानकारी दिए ।

तर आचारसंहिता उल्लघंनबारे प्रशासनले अनुगमन गरिरहेको उनले बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीले प्रदेशभरको सुरक्षा संयन्त्र निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सक्रिय रहेको बताए । मतदातालाई भयमुक्त वातावरण दिँदै सुरक्षा निकायले निष्पक्षता कायम राख्ने उनको भनाइ छ । उनले भने, ‘कानुनविपरीतका गतिविधिमाथि कडाइ गरिएको छ । अफवाह, गलत सूचना र सामाजिक सञ्जालमार्फत फैलिने भ्रमप्रति सचेत रहन आग्रह छ ।’

नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र अर्यालले नागरिक र राजनीतिक दलहरूले सकरात्मक भूमिका निर्वाह गरेपछि स्वच्छ र भयरहित निर्वाचन हुने बताए । राजनीतिक दलका प्रतिनिधिहरूले पनि स्वच्छ निर्वाचन र मतदाताको विश्वास कायम राख्नु अहिलेको मुख्य चुनौती भएको धारणा राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज केदार कँडेलले दलहरूले निर्वाचनलाई जनताको आवाज अभिव्यक्त गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्ने बताए । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सुर्खेतका सचिव देवकुमार सुवेदीले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।

राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदेश सल्लाहकार डा. गोविन्दप्रसाद आचार्यले युवा पुस्ताको सहभागिता बढाउन विशेष अभियान आवश्यक रहेको उल्लेख गरे । राष्ट्रिय जनमोर्चा पार्टीका जिल्ला कमिटी सदस्य हेमराज शर्माले निर्वाचन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व बढाउन नागरिक निगरानी महत्वपूर्ण हुने बताए ।

उज्यालो पार्टीका प्रतिनिधि दिपेन्द्र बिकले समान अवसर र समावेशितालाई सुनिश्चित नगरेसम्म लोकतन्त्र पूर्ण नहुने धारणा राखे । इन्सेकका प्रवक्ता एवं सूचना अधिकारी कृष्ण गौतमले मानव अधिकारको दृष्टिकोणबाट निर्वाचन प्रक्रियालाई हेरिनुपर्ने बताए । नागरिक समाज, मिडिया र अधिकारकर्मीहरूको निगरानी भूमिकाले निर्वाचनलाई विश्वसनीय बनाउन सहिने उनले उल्लेख गरे ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राजेन्द्र न्यौपानेले राजनीतिक दलहरू र भातृ संगठनहरूले निर्वाचन आचारसंहितालाई ध्यान दिए धाँधलीरहित निर्वाचन हुने बताए । आयोगले निर्वाचनमा खटिएका परिवेक्षकहरूको समेत अनुगमन गर्ने उनले जानकारी दिए ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र सहभागितामूलक निर्वाचन अपरिहार्य रहेको बताए । सहभागिहरूले स्वच्छ निर्वाचन, नागरिक चेतना अभिवृद्धि, दलीय संस्कारमा सुधार तथा कानुनी पालना नै लोकतन्त्र सुदृढीकरणका आधार स्तम्भ भएको बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार