सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो ।

नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए । ‘ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ’, प्रमुख जिल्ला अधिकारी कँडरियाले भने,‘योसँगै बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ ।’
यसबाट जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने अपेक्षा गरिएको उनले बताए । संशोधन ऐनअनुसार आफूले दुई हप्ता पहिलादेख जिल्लाका २० वटै पालिकामा परिपत्र गरेको जनाउँदै प्रजिअ कँडरियाले सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको बताए । नागरिकता नभएकै कारण शिक्षा र सीप भएर पनि जागिर गर्न नपाएका, बैंक खातादेखि सिमकार्ड आफ्नो प्रयोग गर्न नपाएकाको समस्या अब समाधान हुने गरिएको बताए ।








प्रतिक्रिया दिनुहोस्