नन्दराम जैशी । सुर्खेत ।
कर्णालीका दुर्गम हिमाली जिल्लाका २० वटा मतदानस्थललाई सुरक्षा गर्ने प्रहरीलाई जिल्ला सदरमुकाम सारिएको छ । अत्यधिक चिसो र हिमपातका कारण मतदानस्थलमा बस्न सक्ने अवस्था नभएपछि त्यहाँका प्रहरीलाई नजिकै रहेको अर्को प्रहरी युनिट तथा सदरमुकाम सारिएको हो । फागुन लागेपछि मात्रै उनीहरू आफ्नो कार्यक्षेत्र जान सक्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार विशेषगरी डोल्पा, हुम्ला र मुगुका २० वटा मतदानस्थल सुरक्षा गर्ने नौवटा प्रहरी युनिट सदरमुकाम सारिएको छ । ती २० वटा मतदानस्थलका करिब चार हजार तीन सय मतदाता छन् । आगामी फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउनका लागि ती हिमाली मतदानस्थलबारे केन्द्रले निर्णय गर्ने कर्णाली प्रदेश प्रहरी प्रमुख तथा डिआइजी जयराज सापकोटाले बताए ।
उनका अनुसार माघको महिनामा दुईपटक हिमपात हुँदा अत्यधिक चिसोले नौवटा प्रहरी युनिटमा कार्यरत सुरक्षाकर्मी त्यहाँ बस्न सक्ने अवस्था नभएपछि जिल्ला सदरमुकाम वा नजिकको अर्को प्रहरी युनिटमा हाललाई मर्ज गरिएको हो । ‘हामीले त्यहाँको अवस्थाबारे केन्द्रमा जानकारी गराइसकेका छौँ । निर्वाचनमा के गर्ने भन्ने जवाफको प्रतीक्षामा छौँ, यसबारे आयोगमा छलफल भइरहेको छ,’ उनले भने, ‘निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा अवस्था मजबुत बनाउन लागिपरेका छौँ । प्रहरी कार्यालय सुरक्षाका लागि १० प्रतिशत मात्रै जनशक्ति राखेर अरू सबै सुरक्षाकर्मी निर्वाचनमा खटाउने तयारी छ ।’
कर्णालीमा करिब नौ हजारभन्दा बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने उनले बताए । तराईतिरभन्दा कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती भए पनि प्रहरीले मतदाता, उम्मेदवार, मतदान केन्द्र र मतदानस्थलको सुरक्षा पूर्ण रूपमा दिने उनको दाबी छ । डिआइजी सापकोटाका अनुसार कर्णालीमा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन् भने प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० जना छन् । कर्णालीमा ६०० भन्दा बढी प्रहरी जनशक्ति अपुग भएकाले त्यसको पूर्ति गर्न केन्द्रसँग माग गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउनका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि सबैलाई उनको अपिल छ । निर्वाचन आचारसंहिता लागू भइसकेकोले राजनीतिक दल, सञ्चारमाध्यम र सञ्चारकर्मी, कर्मचारीलगायत सबैले पूर्णरूपमा पालना गरी निर्वाचनलाई सफल बनाउन उनले आग्रह गरे । यसैबीच प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी कार्यक्रममा सबैले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले निर्वाचन सबैको साझा दायित्व भएकाले प्रविधिको दुरुपयोग रोकी यसको सही प्रयोगबाट आचारसंहिता पालना गर्न र गराउन सहज हुने बताए । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तथा जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक दीपक ढकालले कसैप्रति विभेद नगरी आचारसंहिता पालना गराउने र सोको उल्लघंन भए कानुनबमोजिम कारबाही गर्ने बताए ।
हिमपातमै अनुगमन
हिमाली जिल्ला हुम्लामा हिमपातकै बीच आगामी निर्वाचनका लागि निर्धारण गरिएका मतदानस्थलको अनुगमन गरिएको छ । मतदानस्थलको भौतिकलगायत अन्य अवस्था बुझ्न मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालको नेतृत्वमा अनुगमन गरिएको हो । सिमकोट गाउँपालिका–५ को भीमसेन आधारभूत विद्यालय मतदानस्थल र वडा नं. ६ को कालाशिल्ता आधारभूत विद्यालय मतदानस्थलको अनुगमन गरिएको मुख्य निर्वाचन अधिकृत बरालले बताए ।
दुवै मतदानस्थलको अवस्था सन्तोषजनक रहेको र मतदान गराउन कुनै कठिनाइ नभएको उनको भनाइ छ । जिल्लामा ६० वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्र रहेको छ । सम्भव भएसम्म सबै मतदानस्थलमा अनुगमन गर्न पुग्ने उनले प्रतिबद्धता जनाए । सिमकोट आसपास र दक्षिणी क्षेत्रका पाँचवटा गाउँपालिकाका मतदानस्थलमा अनुगमनमा जाने थप योजना रहेको भन्दै उत्तरी नाम्खाका मतदानस्थलमा भने तत्काल जान सकिने अवस्था नभएको उनले जानकारी दिए । उनले भने, ‘हाललाई उत्तरी नाम्खाका सबै मतदानस्थल अनुगमन गर्न जान सकिँदैन । लिमीका तीनवटा मतदानस्थलमा त हेलिकोप्टरबाहेक स्थलगत अनुमगन गर्न सम्भव छैन ।’
आचारसंहिता पालना गर्ने प्रतिबद्धता
आगामी निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने कर्णालीका सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छलफलमा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण तथा कार्यान्वयनबारेको छलफल कार्यक्रममा राजनीतिक दलका उम्मेदवार, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरू सहभागी थिए ।
उनीहरूले आचारसंहिता पालना गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक र सहयोगी भूमिका खेल्ने निर्णय गरिएको जानकारी दिए ।
यस्तै जुम्लाबाट आगामी निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरूले पनि निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार छन् । सदरमुकाम खलङ्गामा आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायदेखि राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न अनुरोध गरेका थिए ।
यता सल्यान जिल्लामा पनि निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षहरूले प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको बैठकमा सहभागीले समय र स्थान नजुध्ने गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमबारे सम्बन्धित निकायलाई जानकारी गराउने तथा निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सभासम्मेलन आयोजना गर्ने सहमति जनाएका हुन् । जिल्लामा निर्वाचन आचारसंहिता पालना भएनभएको अनुगमनको जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक प्रमुखलाई दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्