काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि आइतबारदेखि थालिने भएको छ । त्यसका लागि घरदैलोमा पुग्ने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन पनि प्रदान गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका र परिवारमा सदस्य साथमा नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । यसैगरी शारीरिक अशक्तता भएका, दीर्घरोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षण गरिन लागेको कामपाले जनाएको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले धेरैका सन्तान विदेशमा रहेकाले पनि ज्येष्ठ नागरिकहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेली मेडिसिन प्रणाली बनाउन लागिएको बताइन् ।









प्रतिक्रिया दिनुहोस्