गणेश रावत । कोहलपुर ।
बर्दियाको बाँसगढी नगरपालिका–४ लक्ष्मणपुरका स्थानीय थारू महिलाहरू अहिले परम्परागत हस्तकला संरक्षणमा जुटेका छन् । थारू समुदायमा परम्परागत रूपमा उत्पादन गरिने हस्तकलाका सामाग्रीहरू लोप थालेपछि थारू समुदायका महिलाहरू संरक्षणमा जुटेका हुन् । २७ जना महिला मिलेर ‘जासु हस्तकला केन्द्र’ स्थापना गरेर थारू समुदायमा लोप हुँदै गएका परम्परागत हस्तकला संरक्षणमा जुटेका छन् ।
आफ्नो कला र परम्परागत हस्तकला हराउँदा अस्तित्व गुम्ने चिन्ताले संरक्षयामा जुटेका हुन् । पछिल्लो समय आधुनिकतासँगै थारू समुदायका परम्परागत हस्तकला हराउन थालेकाले संरक्षणमा जुटेको जासु हस्तकला केन्द्रका अध्यक्ष कुमाली थारूले बताइन् । उनले काइड संस्थामार्फत ३ महिने निःशुल्क तालिम लिएर अहिले हस्तकला संरक्षण गर्न लागि परेको जानकारी दिइन् ।
३ महिने सीटीईभिटी तालिम लिएर प्रमाणपत्र समेत प्राप्त गरेको उनी बताउँछिन् । ‘मैले काइड संस्थाबाट ३ महिने तालिम लिएर मलगायत अन्य साथीहरूले सीटीईभिटीबाट प्रमाणपत्र समेत प्राप्त ग¥यौँ,’ उनले भनिन्,‘ त्यसयता आफ्नो कला र संस्कृति जोगाउन लागेका छौँ ।’ पुरानो हस्तकला संक्षरण हुनुका साथै जीविकोपार्जन गर्न सहज भएको उनी बताउँछिन् ।
अहिले पूजारानी, खुद्रुके, ब्रेक बास्कोट, ढकिया लगायतका २६ वटा आइटम बनाउने गरेको र उत्पादन भएका थारू हस्तकालाको बजार मूल्य राम्रो पाइरहेको उनले बताइन् । थारू हस्तकाला उत्पादन गर्न सके थारू गृहिणीलाई आत्मनिर्भर बन्न कुनै कठिनाइ नरहेको भन्दै उनले अहिले स्थानीय सरकारले पनि बजारका लागि र सामाग्री संरक्षणका लागि फर्निचर सहयोग गरेको बताइन् ।
उनी मात्र नभएर सुस्मा थारू पनि अहिले थारू परम्परागत हस्तकला संरक्षणमा लागेकी छन् । आधुनिकतासँगै परम्परागत सामाग्रीहरू हराउन थालेकोप्रति चिन्ता व्यक्त गर्दै उनले नयाँ पुस्तामा हस्तकला हस्तान्तरण गर्न लागिपरेको बताइन् । स्थानीय सरकारले पनि पुरानो परम्परागत कला संस्कृति जोगाउन तालिमदेखि आर्थिक सहयोग गरेको उनको भनाइ छ ।
महिलाहरूले उत्पादन गरेका थारू परम्परागत हस्तकलाहरूलाई मेला महोत्सवदेखि अन्य ठाउँहरूमा स्टलको व्यवस्था गर्ने गरेको उनले जानकारी दिइन् । उनले थारू हस्तकला आकर्षण र राम्रो हुने भएकाले अन्य देशबाट समेत माग आउने गरेको बताइन् । अहिले महिलाहरू मिलेर आफूले सिकेको सीपबाटै घरखर्च चलाउने गरेको उनी बताउँछिन् । ‘अलिकति दुःख गरेर उत्पादन गर्न सके महिनामा २० हजारसम्म कमाइ गर्न सकिन्छ,’ उनले भनिन्, ‘यसले परम्परागत हस्तकला संरक्षण पनि हुने गर्छ । अर्काे तर्फ आर्थिक रूपमा पनि जीवनयापन गर्न सहज हुन्छ ।’
उनी मात्र होइन् लक्ष्मणपुरका धेरै थारू महिलाहरू अहिले हस्तकला उत्पादनले स्वरोजगारतर्फ अघि बढेका छन् । यसले गर्दा थारू समुदायको परम्परागत हस्तकला संरक्षण भएको छ भने अर्काे तर्फ आर्थिक रूपमा सवल हुँदै गएका छन् । स्थानीय सरकारले स्थानीय कला, संस्कृति र परम्परागत हस्तकला संरक्षणमा लागिपरेको बाँसगढी नगरपालिका नगरप्रमुख खड्कबहादुर खड्काले बताए ।
स्थानीय थारू महिलाहरूले उत्पादन गरेका हस्तकलाको बजारीकरणका लागि स्टलको व्यवस्थापनदेखि आर्थिक रूपमा सहयोग गर्दै आएको उनले जानकारी दिए । बाँसगढी नगरपालिका थारू समुदायको बाहुल्यता रहेको नगरपालिका रहेको बताउँदै उनले पुर्खाहरूले आफ्नो जीविकोपार्जन गर्न प्रयोग गर्दै आएका परम्परागत हस्तकलाहरूको उत्पादन र संरक्षण गर्दै आएको बताए ।
नयाँ पुस्ताहरूका लागि सिकाइ र ज्ञानको कुराहरू बन्ने भएकाले पुराका कला र संस्कृति सबैले जगेर्ना गर्न आवश्यक रहेको भन्दै उनले आधुनिकताको नाममा थारू समुदायको परम्परागत कला, संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै आफ्नो संस्कृति संरक्षणमा जुट्न सबैलाई आग्रह गरे ।








प्रतिक्रिया दिनुहोस्