खजुरा (बाँके) ।
खेल गतिविधि गर्दा अधिकांश विद्यालय ऋणमा परेको बाँकेको खजुरा गाउँपालिकास्थित सामुदायिकका प्रधानाध्यापकहरूले बताएका छन् । आठौँ अन्तर विद्यालय रनिङ शिल्ड प्रतियोगिता सम्बन्धी आयोजना गरिएको समिक्षा बैठकमा सामुदायिक विद्यालयलाई खेल गतिविधि गर्नका लागि प्राप्त बजेट प्रयाप्त नहुँदा अधिकांश विद्यालयले ऋणमा खेलकुदका कार्यक्रम गर्नुपरेको गुनासो गरेका थिए ।
गत मंसिर २६ देखि २९ गतेसम्म सञ्चालन गरिएको प्रतियोगितामा खजुरामा रहेका ७१ विद्यालय मध्ये ५१ विद्यालय मात्र सहभागी भएका थिए । कम विद्यालय सहभागी हुनुको मुख्य कारण खेल गतिविधिमा प्रर्याप्त बजेटको अभाव रहेको सहभागी शिक्षकहरूले बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले मेयर रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित बनाउन कटिबद्ध रहेको बताएका थिए ।
अध्यक्ष विकले मेयर रनिङ शिल्डको भव्य सम्पन्नता पनि खजुराको गौरवका रूपमा स्थापित हुने खजुरा गोल्ड कपको आयोजनातर्फ ध्यान केन्द्रित भएको बताए । समिक्षा कार्यक्रममा आगामी वर्षहरूमा पुरस्कारको राशी बढाउनुपर्ने जोड दिइएको थियो ।
आठौँ मेयर अन्तर विद्यालय रनिङ शिल्ड प्रतियोगितामा १३ लाख ४८ हजार ८ सय रूपैयाँ आम्दानी र जसमा १३ लाख ६० हजार १६५ रूपैयाँ खर्च भएको आयोजक व्यवस्थापनको जिम्मेवारी सम्हालेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए ।









प्रतिक्रिया दिनुहोस्