टाइगर कप भलिबलः विभागीय डर्बीमा आर्मीको रोमाञ्चक जित



पोखरा ।

त्रिभुवन आर्मी क्लबले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा रोमाञ्चक जित निकालेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत बिहीबारको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो ।

पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । पाँचौँ सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो ।
आर्मी र एपीएफले समान ७ अंक जोडेका छन् ।

सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न पाउनेछ । यसअघि भएको पुरुषतर्फ खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ ।
यस्तै बिहीबार नै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो ।

तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रूपैयाँ हात पा¥यो । च्याम्पियनसिपअन्तर्गत आज शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फको खेल हुनेछ ।

पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल दिउँसो एक बजेबाट सुरु हुने तालिका छ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । ५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले आज शुक्रबार एकआपसमा भिड्नेछन् ।

कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौँ सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार