कर्णालीमा निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय



सुर्खेत ।

कर्णालीमा निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय भएको छ । कर्णाली प्रदेश प्रहरी नायब महानिरीक्षक (डीआइजी) जयराम सापकोटाको कमाण्डमा प्रदेशभरका सबै प्रहरी युनिट निर्वाचन सुरक्षामा परिचालित भएका हुन् । डीआइजीको जिम्मेवारीमा कर्णाली आएका सापकोटाले बिहीबार पत्रकारहरूसँग परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गर्दै प्रहरी आवाश्यक सुरक्षा रणनीति अपनाएर निर्वाचन केन्द्रित भएको बताए ।

निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सुनिश्चित गर्न प्रहरी पूर्ण तयारीका साथ लागि परेको उनको भनाइ छ । तर अपुग जनशक्ति, हातहतियार तथा सवारी साधनका लागि प्रहरी प्रधान कार्यालयमा माग पठाइएको डीआइजी सापकोटाले जानकारी दिए ।

‘प्रहरीले मतदान स्थल, मतदाता र निर्वाचन प्रक्रियाको सुरक्षामा निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छ ।  सञ्चारकर्मीहरूलाई पनि जनतालाई सत्य, सन्तुलित र तथ्यपरक सूचना प्रवाह गर्न आग्रह छ’ उनले भने, ‘जसरी प्रहरी निष्पक्ष रूपमा सुरक्षामा खटिएको छ, त्यसरी नै पत्रकारहरूले पनि जनचेतना अभिवृद्धि हुने गरी भूमिका खेल्नुपर्छ । हामी सबै मिलेर निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नुपर्छ ।’

प्रदेश प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म कर्णाली प्रदेशभर कुल एक हजार ४६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ५५२ वटा मुद्दा फछ्र्यौट भइसकेका छन्, भने विभिन्न मुद्दामा ८११ जना अभियुक्त पक्राउ परेका छन् । ‘कारागार सुरक्षाको सन्दर्भमा जुम्ला कारागारबाट फरार नौ जना र रूकुम पश्चिम कारागारबाट भागेका १६ जना कैदी अझै पक्राउ पर्न बाँकी रहेका छन्’ उनले थपे, ‘फरार कैदीको खोजी कार्य जारी छ, ती कैदीहरूलाई पनि निर्वाचनका लागि असुरक्षाको रूपमा हेरिएको छ ।’

त्यसैगरी जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी चार वटा मुद्दा दर्ता भएको र अनुसन्धान कार्य जारी रहेको डीआइजी सापकोटाले बताए । उनका अनुसार पछिल्लो समय कर्णालीमा लागूऔषध सेवन र ओसारपसारको समस्या बढ्दो क्रममा रहेको छ । हिमाली जिल्लासमेत यसबाट प्रभावित हुन थालेको प्रहरीको निष्कर्ष छ ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउने साझा जिम्मेवारी रहेको भन्दै कानुन उल्लंघन गर्ने, भ्रामक सूचना फैलाउने तथा हिंसात्मक गतिविधिमा संलग्न हुने जो–कोहीलाई कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ । ‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । सुरक्षित मतदान, सत्य सूचना र जिम्मेवार व्यवहारमार्फत मात्र निष्पक्ष निर्वाचन सम्भव हुन्छ’ डीआइजी सापकोटाले भने, ‘प्रहरी, सञ्चारमाध्यम र नागरिकबीचको सहकार्यले मात्रै कर्णालीमा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सकिन्छ । यसमा हातेमालो गरौँ ।’

नौ हजार बढी निर्वाचन प्रहरी भर्ना

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेशमा नौ हजार ७४८ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । जसमा सुर्खेतमा एक हजार ८४० जना, जाजारकोट ९८२, रूकुम पश्चिममा ९४९, सल्यानमा एक हजार ४०६ र कालीकोटमा एक हजार १९८ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

यस्तै जुम्लामा ९७४, मुगु ६२६, डोल्पा ६२५, हुम्लामा ९९५ र दैलेखमा एक हजार ५५७ निर्वाचन प्रहरी भर्ना भएका छन् । निर्वाचन प्रहरीका लागि कर्णालीका १० जिल्लामा १८ हजार १६४ जनाले आवेदन दिएका थिए । निर्वाचन प्रहरीको सेवा अवधि ४० दिनको रहनेछ । कर्णालीमा आगामी निर्वाचनका लागि १० लाख ३७ हजारभन्दा बढी मतदाताको नामावली कायम भएको छ । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकसहित कूल मतदाताको सङ्ख्या १० लाख ३७ हजार २५० पुगेको हो ।

निर्वाचनका लागि कर्णालीमा ९४१ मतदानस्थल र एक हजार १३७ मतदान केन्द्र तोकिएको छ । तर मौसम र भौगोलिक अवस्थालाई ख्याल गरी उच्च हिमाली क्षेत्रका नौ प्रहरी युनिट र २० मतदान केन्द्र मर्च गर्न निर्वाचन आयोगमा छलफल भइरहेको छ । निर्वाचनलाई लक्षित गरी प्रदेश निर्वाचन कार्यालयले आफ्नो तयारीलाई तीव्रता दिएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार