नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालनका लागि वैकल्पिक स्थानमा सभाहलको तयारी गरिएको छ । प्रदेशसभाको नियमित भवनमा मर्मत तथा व्यवस्थापन कार्य जारी रहेकाले अधिवेशन प्रभावित हुन नदिन वैकल्पिक सभाहल तयार पारिएको हो । जसका लागि कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रको सभाहललाई बैठक कक्षका रूपमा डिजाइन गरिएको हो ।
हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनका क्रममा आवश्यक पर्ने सभा कक्ष, सभा सदस्यहरूका लागि आसन व्यवस्था, सचिवालय कक्ष, सञ्चारकर्मीका लागि प्रेस कक्ष तथा सुरक्षासम्बन्धी पूर्वाधारलाई ध्यानमा राखेर अस्थायी संरचना तथा व्यवस्थापनको काम सम्पन्न भएको छ । बैठक सञ्चालनका लागि ध्वनि प्रणाली, प्रत्यक्ष प्रसारणलगायत अन्य प्राविधिक सुविधा पनि मिलाइएको छ ।
हिउँदे अधिवेशनमा नीति तथा कार्यक्रमको समीक्षा, विधेयकहरूमाथि छलफल तथा प्रदेश सरकारका विभिन्न समसामयिक विषयमा बहस हुने अपेक्षा गरिएको छ । वैकल्पिक स्थानबाटै भए पनि अधिवेशन नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको हिउँदे अधिवेशन निर्धारित कार्यसूचीअनुसार नै सञ्चालन हुने र सभा सदस्य तथा सरोकारवालालाई कुनै असहजता नहुने गरी सबै व्यवस्था मिलाइने सचिवालयको दाबी छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन माघ १८ गते आइतबार दिउँसो १ बजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको बताए ।
उनका अनुसार यस पटकको हिउँदे अधिवेशन कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रको सभाहलमा सञ्चालन गर्न सबै तयारी अन्तिम चरणमा पुगेको छ । ‘वीरेन्द्रनगर बजारको गणेश चोकमा रहेको सो कार्यालयमा सुरुका केही बैठक सञ्चालन गर्ने गरी तयारी थालिएको छ,’ उनले भने, ‘गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको प्रदेशसभा भवन पुनर्निर्माण गर्न समय लाग्ने देखिएको छ ।’
उनका अनुसार हिउँदे अधिवेशन अस्थायी रूपमा सञ्चालनका लागि प्रदेशसभा परिसरमै रहेको सूचना प्रविधि कक्षको मर्मत थालिएको छ । उक्त कक्ष निर्माण गर्न अझै समय लाग्ने भएकाले तत्कालका लागि कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्रको सभाहलमा बैठक सञ्चालन गर्ने तयारी भएको उनले बताए ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले अस्थायी रूपमा बैठक बसाल्ने तयारीस्वरूप सूचना प्रविधि कक्ष बनाउन लागिए पनि लागत अनुसारका सामग्री आउन समय लाग्ने भएकाले अर्को विकल्प सोचिएको बताए । उनका अनुसार सो स्थानको संरचना सबै नयाँ छ । बैठक सञ्चालन गर्ने विधि अनुसारको केही सजावट मात्र आवश्यक पर्दछ । सुरुका बैठक प्रशिक्षण केन्द्रको सभाहलमा हुने र त्यसपछिका बैठक प्रदेशसभाको सूचना प्रविधि कक्षबाट हुने पौडेलले बताए ।
‘अस्थायी रूपमा बैठक चलाउनका लागि निर्माण थालिएको सूचना प्रविधि कक्षको काम करिब आधा सकिएको छ,’ उनले भने, ‘जस्तापाता र सिमेन्टका केही सामग्री आउन ढिलाइ भएकाले तत्कालका लागि सूचना प्रविधि कक्षबाट बैठक चलाउन नसकिएको हो ।’ सूचना प्रविधि कक्ष निर्माणको काम प्रदेश सरकारकै नियमित बजेटबाट भइरहेको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभामा करिब चार करोड बराबरको क्षति भएको छ भने क्षति भएका उक्त भौतिक संरचना निर्माण कार्य अघि बढाइएको छ ।









प्रतिक्रिया दिनुहोस्