
गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई माथिल्लो तहको आदेश नकुरी कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।
आइतबार नेपाल प्रहरीको साइबर ब्युरो तथा काठमाडौँको हनुमानढोकास्थित पुरानो प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गर्दै गृहमन्त्री अर्यालले निर्वाचन अवधिमा सामाजिक सञ्जालमा फैलिने भ्रम र अवैधानिक पोस्टमाथि स्वतःस्फूर्तसक्रिय भई तत्काल कारबाही प्रक्रियामा ल्याउन निर्देशन दिए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न साइबर ब्युरोको भूमिका महत्वपूर्ण हुने पनि बताएका छन् ।
सामाजिक सञ्जालबाट फैलिन सक्ने भ्रामक, मिथ्या तथा कानुनले वर्जित सामग्रीको सूक्ष्म निगरानी गर्दै नियमनमा सक्रिय हुन गृहमन्त्री अर्यालले प्रहरीलाई निर्देशन दिए ।
समाजमा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जालको दुरुपयोग हुन नदिन र फागुन २१ गतेको निर्वाचनको सकारात्मक माहोल कायम राख्न थप तदारुकताका साथ काम गर्न पनि उनले निर्देशन दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्