स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नसकिएको मन्त्रीको स्वीकारोक्ति



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको स्वीकार गरेकी छन् । मन्त्रालय सम्हालेको तीन महिना पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गौतमले वित्तीय असन्तुलन र समयमै दाबी भुक्तानी हुन नसक्दा बीमा क्षेत्रमा गम्भीर समस्या देखिएको बताइन् । उनले बीमा कार्यक्रम प्रभावकारी नहुनुमा उच्च स्वास्थ्य जोखिम भएका व्यक्तिहरूको मात्र बढी सहभागिता हुनु, अनावश्यक रूपमा सेवा उपभोग गरिनु र दाबी व्यवस्थापनमा कमजोरी देखिनुपस्ता कारण रहेको पनि बताएकी छन् ।

उनले आफूले बीमा सुधारलाई प्राथमिकतामा राखे पनि विभिन्न प्राविधिक र व्यवस्थापकीय झमेलाले काममा बाधा पुगेको दाबी गरिन् । यद्यपि, स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भई स्वीकृतिको अन्तिम प्रक्रियामा पुगेको जानकारी उनले दिएकी छन् ।

मन्त्री गौतमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति उपलब्ध भए पनि भौतिक पूर्वाधारको अभाव र पुरानो संरचनाका कारण सुधारका कामहरू कठिन भएको बताएकी छन् । उनले आफ्नो कार्यकालमा जनयुद्धका घाइतेहरूको उपचार, मातृ तथा नवजात शिशुको स्वास्थ्य, वैदेशिक रोजगारमा रहेका श्रमिकको स्वास्थ्य सुरक्षा र औषधि प्रयोगशालाको सुधारलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेकी छन् ।

विशेष गरी लुम्बिनी, कर्णाली, गण्डकी र मधेस प्रदेशमा मातृ मृत्युदर उच्च रहेकाले ती क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार