नेपालगन्ज (बाँके) ।
पछिल्ला केही वर्षयता बाँके लगायतका अन्य जिल्लाहरूमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । हरेक वर्ष नयाँ कुष्रोगका बिरामीको सङ्ख्या बढेको पाइएको हो । चालू आर्थिक वर्ष २०८२–०८३ को छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालू आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
२५ जनवरी २०२६ का दिनमा मनाइने ७३औँ विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा साइनिङ अस्पताल आइएनएफ नेपालले पत्रकारहरूसँग राखेको अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले अस्पतालमा उपचार गराउन आएका विभिन्न जिल्लाका नागरिकसहित भारतीय नागरिकहरूमा कुष्ठरोग फेला परेको बताए ।
सरकारले सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गरिसकेको छ । तर प्रदेश र जिल्लास्तरमा भने कुष्ठरोगको स्थिति अझै पनि भयावह नै देखिन्छ । देशका सातवटा प्रदेशमध्ये लुम्बिनीसहित तीनवटा प्रदेशमा अझ पनि कुष्ठरोग निवारणको लक्ष्य प्राप्त हुन सकेको छैन्। बाँकेमा कुष्ठरोगीको पहिचान र उपचार गर्दै आइरहेको साइनिङ अस्पताल आइएनएफ नेपालको तथ्याङ्क हेर्दा हरेक वर्ष कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या वृद्धि हुँदै आएको पाइएको छ ।
चालू आर्थिक वर्ष ०८२–८३ को साउनदेखि पुससम्म छ महिनाको अवधिमा अस्पतलामा परीक्षण गराउन आएका बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् । अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले अस्पतालमा चेकजाँच गराउन आएका विभिन्न जिल्लाका नागरिकसहित भारतीय नागरिकहरूमा कुष्ठरोग फेला परेको बताए ।
प्रमुख थारूका अनुसार चालू आवको छ महिनामा सबैभन्दा धेरै बाँकेका ३६ जना, बर्दियाका १२ जना, जाजरकोटका ५ जना, रूकुमका ५ जना, कैलालीका ५ जना, अछामका ३ जना, दैलेखका २ जना र दाङ, प्युठान, रोल्पा, सल्यानका एक÷एक जनामा कुष्ठरोग फेला परेको हो । त्यसैगरी १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग फेला परेको उनले बताए । जसमध्ये ५७ जना पुरुष र २९ जना महिला रहेका छन् ।
विभिन्न जिल्लाहरूबाट यस अस्पतालमा चेकजाँच गर्न आएका ३४२ जनाको प्रयोगशाला परीक्षण गर्दा ८६ जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । जसमध्येका ५६ जना नयाँ बिरामीमा स्मीयर जाँच पोजेटिभ पाइएको थियो । अघिल्लो आव ०८०–०८१ मा यस अस्पतालमा विभिन्न जिल्लाबाट चेकजाँच गर्न आएका १४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए ।
गत आव ०८१–८२ मा उक्त सङ्ख्यामा वृद्धि भई १७४ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । जसमध्ये ९३ जना बाँके जिल्लाकै विभिन्न स्थानका रहेका थिए । त्यसैगरी अघिल्लो आवको साउनदेखि पुससम्म ६० जना नयाँ बिरामी फेला परेकामा गत आवको छ महिनामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । सोही अवधिमा यस वर्ष सङ्ख्या बढेर ८६ पुगेको छ ।
यसै अस्पतालमा मात्रै चेकजाँच गराउन आएका विभिन्न जिल्लाका नागरिकहरूमा नयाँ कुष्ठरोग भेटिने क्रम विगत तीन वर्षदेखि लगातार वृद्धि भइरहेको तथ्याङ्कले देखाएको छ । अस्पतालको अन्तरङ्ग सेवामा यो छ महिनामा ५८ पुरुष र २३ महिला गरी ८१ जनाले सेवा लिएका छन् । स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि प्रयोगशालामा १० हजार ७९५ नमुना परीक्षण गरिएको छ । त्यसैगरी अपाङ्गता तथा रोकथामको लागि सहयोगी सामग्री तथा १०३ जोडा जुत्ता वितरण गरिएको छ ।
अपाङ्गता तथा रोकथामका लागि फिजियोथेरापी अभ्यास ६९ जनालाई गरिएको थारूले जानकारी दिए । २३ जना सरकारी विद्यालयमा कार्यरत नर्सहरूका लागि कुष्ठरोगसम्बन्धी क्षमता अभिवृद्धि गर्न कुष्ठरोग आधारभूत तालिम प्रदान गरिएको, सञ्चालनमा रहेका स्वयं सहायता समूहका २९ जना सदस्यलाई कुष्ठरोग, स्वयं हेरचाह र बचत तथा ऋण परिचालनसम्बन्धी तालिम प्रदान गरिएको, १९० जना नेपाल सरकारको स्वास्थ्य संस्थासँग आबद्ध महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि कुष्ठरोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरि लाभान्वित भएको पनि उनले बताए ।
कुष्ठरोगसम्बन्धी जनचेतना बढाउन २२ वटा समूहका ६०० जना आमा समूहका सदस्यहरूलाई कुष्ठरोगसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको, विभिन्न विद्यालयहरूमा कुष्ठरोगसम्बन्धी कक्षा सञ्चालन गरी ९२१ जना विद्यार्थीहरू र २ वटा कलेजका ७५ जना विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको, नरैनापुर गाउँपालिकाका २८ जना जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गरिएको पनि उनले जानकारी दिए ।
त्यसैगरी समुदायस्तरमा कुष्ठरोग पहिचान दुई ठाउँमा सञ्चालन गरिएको, जसमा ५१० जनाको परीक्षण गर्दा ९ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । ४२ जना नयाँ कुष्ठरोग बिरामीहरूको सम्पर्कमा रहेका २४५५ जना बिरामीको परिवार तथा छिमेकीहरूको सम्पर्क परीक्षण गर्दा थप नयाँ कुष्ठरोगका बिरामी फेला परेका थारूले जनाए ।
हाल अस्पतालमा कुष्ठरोगसम्बन्धी अनुसन्धानात्मक कार्य पनि भइरहेको अस्पताल प्रमुख थारूले जानकारी दिए । बिएनएमटी नेपालको आर्थिक सहायता र सहकार्यमा अनुसन्धनात्मक कार्य कुष्ठरोगको किटाणुको आनुवंशिक परीक्षण भइरहेको र हालसम्म १३१ वटा अध्ययन नमुना संकलन भइसकेको उनले बताए ।
कार्यक्रमको सहजीकरण गरेका अस्पतालका प्रशासन अधिकृत नरेन्द्र साउँदले कुष्ठरोगको उच्च प्रभाव दर रहेको अवस्थामा समुदायस्तरमा कुष्ठरोगबारे जनचेतनाको स्तर वृद्धि गराउन, कुष्ठरोग निवारणका लागि देखिएका विभिन्न समस्या तथा चुनौतीहरू विद्यमान रहेको अवस्थामा समस्याहरूलाई चिर्दै अगाडि बढ्न र कुष्ठरोगमुक्त नेपाल निर्माण गर्न पत्रकारको अहम् भूमिका हुँदा अन्तक्र्रिया कार्यक्रम राखिएको बताए ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले समाजमा कुष्ठरोगलाई अझै पनि पूर्वजन्मको पाप र सामाजिक कलङ्कका रूपमा चित्रित गरिँदै आइएको भन्दै मिडिया र पत्रकारहरूले यसलाई चिर्न प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकाले सरोकारवाहरूले मिडिया र पत्रकारहरूसँग समन्वय गरेर काम गर्न आग्रह गरे । २४ बेड क्षमताको साइनिङ अस्पतालमा अहिले १३÷१४ जना बिरामीले भर्ना भएर सेवा प्राप्त गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्