बाँके ।
पटक–पटक अभियान सञ्चालन हुँदा समेत अपेक्षित सहभागिता नआएपछि बाँकेका चारवटा पालिकामा १६औँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर गाउँपालिकाका सबै वडा तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा फेरि औषधि खुवाउने तयारी थालिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार यो अभियान राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले अभियान पुनः सञ्चालन गर्नुपर्ने बाध्यताको कारणबारे बुधबार नेपालगन्जमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तक्र्रियामा स्पष्ट पारेका थिए ।
उनका अनुसार एकैपटक कम्तीमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन । तर बाँकेका लक्षित पालिकामा त्यो मापदण्ड अझै पूरा हुन नसकेको उनले बताएका थिए । ‘एकैपटक ८० प्रतिशत मानिसले औषधि नखाएकै कारण हामीलाई १६औँ पटक पनि अभियान सञ्चालन गर्नुपरेको हो,’ महत्तोले भने, ‘यसले हात्तीपाइले रोग निवारणलाई अझ चुनौतीपूर्ण बनाइरहेको छ ।’
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा पछिल्लोपटक गरिएको सर्वेक्षणमा केवल ६२ प्रतिशत मानिसले मात्रै हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए । यो सङ्ख्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अपर्याप्त मानिन्छ । औसतमा प्रत्येक एक सय जनामध्ये ६ दशमलव ५ प्रतिशत मानिसको शरीरमा हात्तीपाइले रोगका वयस्क परजीवी रहेको पाइएको छ ।
अझ चिन्ताजनक कुरा के छ भने प्रत्येक एक सय जनामध्ये करिब दुई प्रतिशत मानिसमा अरुलाई रोग सार्ने क्षमता रहेको देखिएको छ ।महत्तोका अनुसार रोग निवारण भएको मानिनका लागि यो दर एक प्रतिशतभन्दा तल झर्नुपर्ने हुन्छ । तर हालको अवस्थाले त्यो लक्ष्य हासिल गर्न अझ धेरै मिहिनेत आवश्यक रहेको देखाउँछ ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताइन्। स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले सबैले दृढ संकल्पका साथ यो अभियानमा प्रतिबद्ध भई हातेमालो गरेमा सफलता हासिल हुने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्