काठमाडौँ ।
सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो ।
बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चारवटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो ।
निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ कार्यान्वयनमा रहेको छ । यस्तै चुनाव केन्द्रित सुरक्षा व्यवस्थापनबारे निर्वाचन आयोगले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँगसमेत छलफल गरेको छ । बुधबार निर्वाचन आयोगको कार्यालय कान्तिपथमा निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने विषयमा वृहत छलफल भएको प्रहरीले जानकारी दिएको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवं सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरी कार्यसम्पदान गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी तुलाधर र सगुन शमशेर जबरा तथा गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्