शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँके राष्ट्रिय निकुञ्जले प्रविधिको प्रयोग गरेर नरभक्षी पाटेबाघ नियन्त्रणको अभियान थालेको छ । पाटेबाघले बाँके राष्ट्रिय निकुञ्ज र आसपासका जिल्लाहरूमा धेरै सर्वसाधारणको ज्यान लिएपछि सीसीटिभी र ड्रोनको प्रयोग गरेर नरभक्षी पाटेबाघ खोज्न सुरु भएको हो । चालू आर्थिक वर्षको हालसम्म बाँके, बर्दिया, सुर्खेत र सल्यानका आधा दर्जन नागरिकले पाटेबाघको आक्रमणबाट ज्यान गुमाएका छन् ।
हालसम्म बाँकेमा दुईजनाले ज्यान गुमाएका छन् । सुर्खेतमा एक र सल्यानमा मात्रै पुस मसान्तमा मात्रै दुईजनाले ज्यान गुुमाए । बर्दियामा पछिल्लो पाँच वर्षको अवधिमा दर्जनौँ नागरिकले पाटेबाघको आक्रमणबाट ज्यान गुमाइसकेका छन् । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत सल्यानको कालीमाटी क्षेत्रमा मात्रै पुुस मसान्तमा दुई जनाले ज्यान गुमाएका थिए ।
पुस २५ गते कालीमाटी–७ मा ४२ वर्षीया धनसरी रावत र पुस २९ गते मंगलबार वडा नम्बर–६ हात्तीढुंगामा ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गंगा सारुको पाटेबाघको आक्रमणबाट पुस २३ गते ज्यान गएको थियो ।
एकसातामै दुईजना नागरिक र पशु चौपायामा क्षति पुगेपछि कालीमाटी गाउँपालिकाले सूचना जारी गरेरै डिभिजन वन कार्यालय सल्यानलाई बाघ नियन्त्रण लिन र मार्न आदेश जारी गर्न माग गरेको थियो । स्थानीय सरकारले नै नागरिकको ज्यान जोखिममा परेको भन्दै बाघ मार्न आदेश मागेपछि डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा निरन्तर मानिसको ज्यान लिइरहेको पाटेबाघ कानुनबमोजिम नियन्त्रण लिन वा मार्न बाँके राष्ट्रिय निकुञ्जलाई आदेश दियो ।
कार्यालयले निकुञ्जलाई लेखेको पत्रमा भनिएको छ, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधनसहित)को दफा १० ‘क’ र ‘ख’ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधनसहित)को नियम ३६ ‘क’बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा उक्त पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको हो ।’
यता, निकुञ्ज भने नरभक्षी बाघ नियन्त्रणमा खटिएको छ । सीसीटिभी जडान गरेर, ड्रोन र २५ जना जनशक्ति खटाएर बाघको खोजी भइरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले पाटेबाघको खोजीकार्य तीव्र पारिएको बताए । ‘म आफैँ पनि निरन्तर फिल्डमै छु । जनशक्ति खटाइएको छ । सीसीटिभी क्यामरा जडान गरिएको छ । बाघको खोजी गर्न ड्रोनसमेत प्रयोग गरेका छौँ ,’ उनले भने ।
बाघको खोजीमा घुइयाबारी रेन्ज पोष्ट, निकुञ्जको सुरक्षा हेडक्वाटरको प्राविधिक टोली ओभरी र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीसहित २५ जना जनशक्ति खटिएको उनको भनाइ छ । पछिल्लोपटक पुस २८ गते सीसीटिभीमा बाघ देखिएको र त्यसपछि भने देखा नपरेको उनले जानकारी दिए । आहाराका लागि डुलिरहने भएकोले बाघ एकैठाउँमा नबस्ने भएका कारण नियन्त्रणमा लिन समस्या भइरहेको सूचना अधिकारी पंगेनीले बताए ।
बाघ पक्राउ नगर्दा अझै त्रासमै स्थानीय
पाटेबाघले नागरिकको ज्यान लिएको सुर्खेत र सल्यानका विभिन्न क्षेत्रका नागरिक अझै त्रासमै छन् । ती पालिकाका विभिन्न क्षेत्रमा बाघको त्रास अझै बाँकी छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर –५ गेरवानीकी ५७ वर्षीया गंगा सारुको ज्यान लिएकै घरबाट मंगलबार राति ११ बजेतिर खसी र भेडा मारेको वडा अध्यक्ष प्रेमबहादुर सारुले बताए ।
उनका अनुसार वडा नम्बर ८ र ९ का विभिन्न क्षेत्रमा हरेक दिनजसो बाघ देखिने गरेका कारण नागरिक त्रासमा छन् । ‘पीडित परिवारलाई राहत दिलाउने प्रयासमा छौँ । वडाबाट कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । हिजो पनि भेडा र खसी मारेछ । नागरिक त्रासमा छन्,’ वडा अध्यक्ष सारुले भने । उनले बुधबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले नागरिकको सुरक्षाका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको जानकारी दिए ।
यस्तै मध्यवर्ती क्षेत्रको कानुन संशोधनको मागसमेत गरिएको उनले बताए । मध्यवर्ती क्षेत्र हटाउनुपर्नेदेखि वस्ती स्थानान्तरण गर्नपर्ने आफूहरूको माग रहेको उनले जानकारी दिए । सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकराज पुलामी मगरले पनि बाघ नियन्त्रणको लागि सरोकारवाला निकायलाई गुहार गरिरहेको बताए ।
उनका अनुसार बाघ मार्ने आदेश आएपछि कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समेत आग्रह गरिएको छ । उनले भने, ‘स्थानीय सरकारले पीडितलाई राहत दिएको छ । सबैभन्दा ठूलो कुरा त्यहाँको सुरक्षा हो । हामीले नागरिकको सुरक्षा हुनुपर्ने बताएका छौँ । सरोकारवालाहरूसँग छलफल र पहल भइरहेको छ ।’ कालीमाटी गाउँपालिकाले बाघको आक्रमणबाट ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाई राहत उपलब्ध गराएको छ ।









प्रतिक्रिया दिनुहोस्