आठौँ उपमेयर छात्रा कपः लक्ष्मी मावि र ज्ञान ज्योति विजयी



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ को दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा कोहलपुर–११ स्थित प्रस्तावित क्रिकेट रंगशालामा सञ्चालन भइरहेको प्रतियोगितामा दुई वटा विद्यालयले विजयी सुरुवात गरेका हुन् ।

खेल संयोजक मदन विकका अनुसार दोस्रो दिनको पहिलो खेलमा लक्ष्मी मावि र कृष्ण माविबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा कृष्ण माविलाई हराउँदै लक्ष्मी मावि ४ विकेटले विजयी भएको उनले बताए । खेलमा लक्ष्मी माविले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।
पहिला ब्याटिङ गरेको कृष्ण माविले १५ ओभरमा ८ विकेट गुमाउँदै ६० रन बनाएको थियो ।

६१ रनको सामान्य लक्ष्य पाएको लक्ष्मी माविले ८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । पहिलो खेलमा प्लेअर अफ द म्याच रितु राजकोटी बनिन् । उनलाई कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले नगद पाँच हजारसहित पुरस्कृत गरेका थिए । सोमबार नै भएको दोस्रो खेलमा जन ज्योति मावि र ज्ञान ज्योति माविबीच प्रतिस्पर्धा भएको थियो ।

खेलमा ज्ञान ज्योति मावि ३७ रनले विजयी भएको संयोजक विकको भनाइ छ । टस जितेको ज्ञान ज्योति माविले १५ ओभरमा ३ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । ज्ञान ज्योतिलाई जिताउन सन्ध्या थापाले २ चौकासहित ४० बलमा सर्वाधिक ३८ रन बनाइन् । समान २ चौका प्रहार गरेकी हुमकली ओलीले ३८ बलमा ३२ रन बनाएकी थिइन् । अप्सरा बुढाले २४ बलमा २३ रन जोडिन् । उक्त खेलमा ज्ञान ज्योतिलाई जिताउन महत्वपूर्ण ३८ रन बनाएकी सन्ध्या थापा म्यान अफ द म्याच भइन् ।

प्रतियोगिताको पहिलो दिन कोहलपुर बागेश्वरीलाई हराउँदै बाल शिक्षा मावि भरैयाले जितेको थियो । संयोजक विकले प्रतियोगिताको तेस्रो दिन पहिलो खेल त्रिभुवन मावि र दीपज्योति विद्या आश्रम र दोस्रो खेल पञ्चमुखी स्कुल र जनता मावि मैटहवाबीच हुने जानकारी दिए । प्रतियोगितामा कोहलपुर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू गरेर जम्मा १३ वटा विद्यालय सहभागी छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार