सुदूरपश्चिम प्रदेशस्तरीय सीप तथा रोजगार मेला सुरु



धनगढी ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय सीप तथा रोजगार मेला धनगढीमा सुरु भएको छ । सोमबार नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले मेलाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मन्त्री भण्डारीले नेपाली जनशक्ति ठूलो सङ्ख्यामा विदेश पलायन हुँदा देशभित्र उत्पादन वृद्धि हुन नसकेको बताए ।

विगतमा भएका बेथितिका कारण ‘जेनजी’ आन्दोलन विस्फोटको रूपमा देखिएको उनको भनाइ थियो । उनले श्रमप्रतिको सामाजिक दृष्टिकोण नै गलत रहेको उल्लेख गर्दै नेपाली युवाहरूले श्रमलाई ‘शरम’को रूपमा हेर्ने मानसिकता रहेको बताए । साथै सुदूरपश्चिम प्रदेश भौगोलिक मात्र होइन, मनोवैज्ञानिक रूपमा समेत सुदूर रहेको उनको टिप्पणी थियो ।

सीप तथा रोजगार मेलाअन्तर्गत २२ वटा विधामा छनोट भएका ६ सय जना युवा–युवतीलाई एक महिनाको सीप तालिम तथा १० दिनको रोजगारसम्बन्धी परामर्श प्रदान गरिँदै छ । उपमहानगरपालिकाका अनुसार माघ ५ गतेदेखि ३० दिन सीप विकास तालिम सञ्चालन हुनेछ भने बाँकी १० दिन परामर्श, कार्यशाला तथा रोजगार मेला आयोजना गरिनेछ । मेलामा सहभागी छनोटका लागि मंसिर १५ गतेदेखि आवेदन संकलन गरिएको थियो ।

रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फोटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटी अन्तर्गत वेटर÷वेट्रेस, बेकरी, कफी बारिस्टा, फास्टफुड कुक, शैक्षिक सेवाअन्तर्गत पुरोहित, लेखा व्यवस्थापन, इसिडी सहजकर्ता, एडभान्स ब्यूटीसियन, हेयर कटिङ, आर्ट एन्ड क्राफ्ट डिजाइनिङअन्तर्गत बेतबाँस हस्तकला, सांस्कृतिक पोसाक, बुटिक तथा कढाइ, निर्माण सेवाअन्तर्गत प्लम्बिङ, फर्निचर, बिल्डिङ वायरिङ, वेल्डिङ तथा मेकानिकलअन्तर्गत एसी, फ्रिज, मोबाइल र सिसिटिभी मर्मत गरी सात क्षेत्रका २२ विषयमा तालिम सञ्चालन हुने रोजगार शाखा प्रमुख चन्द्र महराले जानकारी दिए । उनका अनुसार सांस्कृतिक पोसाक निर्माणतर्फ मात्र ७५ जना सहभागी छन् ।

उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले प्रदेशका ५१ वटा पालिकाबाट सहभागीहरू मेलामा संलग्न भएको बताए । तालिमपछि सहभागीहरूलाई रोजगारीसँग जोडिने व्यवस्था गरिने उनले बताए । धनगढी सबै पालिकाको साझा बजार भएकाले यहाँ उत्पादन हुने दक्ष जनशक्तिलाई यहीँ रोजगारीको अवसर उपलब्ध हुने उनको भनाइ थियो । आवश्यक परे थप श्रम बजारको खोजी गरिने उल्लेख गर्दै उनले रोजगारी सिर्जनाका लागि प्रदेशका सबै स्थानीय तहलाई धनगढी उपमहानगरपालिकासँग सहकार्य गर्न आग्रह गरे ।

नगर उपप्रमुख कन्दकला रानाले सीप तथा रोजगार मेला उपमहानगरपालिकाको गौरवको योजना रहेको बताइन् । गत वर्ष तालिम लिएका सहभागीमध्ये करिब ५० प्रतिशत रोजगारीमा स्थापित भएको दाबी गर्दै उनले यस कार्यक्रमले सकारात्मक परिणाम दिएको बताइन् ।
गत वर्ष ३९ स्थानीय तहबाट १ हजार ४० जना युवाले २९ विधामा एक महिनाको तालिम लिएका थिए ।

तालिमपछि सीप परीक्षण गरी रोजगारदाताको उपस्थितिमा परामर्श कार्यशाला आयोजना गरिएको थियो । उपमहानगरपालिकाका अनुसार २२६ जना रोजगारीमा संलग्न भएका थिए भने १७२ जना स्वरोजगार बनेका थिए । साथै तालिम लिएका मध्ये २७ जनालाई थप तालिम तथा सीप विकासका लागि काठमाडौँ र बुटबल पठाइएको रोजगार शाखा प्रमुख महराले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार