किसानकै बगैँचामा पुगेर प्राविधिक सीप दिइँदै



जुम्ला ।

जिल्लामा गुणस्तरीय स्याउ उत्पादन गर्ने किसानलाई व्यावहारिक सीप प्रदान गर्न स्याउ बगैँचा काटछाँट तथा व्यवस्थापन अभियान सुरु भएको छ । कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा, चन्दननाथ नगरपालिका र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा अभियान थालिएको हो ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार हाल स्याउका बिरुवाहरू सुषुप्त अवस्थामा रहने भएकाले यो समय काटछाँट र व्यवस्थापनका लागि सबैभन्दा उपयुक्त मानिन्छ । ‘बिरुवाको उचित काटछाँट, सिँचाइ र मलखादको व्यवस्थापन गर्न सके उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘स्याउमा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि कार्यालयले किसानहरूलाई सहयोग गरिरहेको छ । किसानकै बगैँचामा पुगेर प्राविधिक सीप दिने काम जारी छ ।’

स्याउमा लाग्ने रोग किरा नियन्त्रणका लागि एक लिटर निलो तुथोमा १०० माना पानी र एक लिटर चुनामा १०० माना पानी मिसाएर बिरुवामा प्रयोग गर्न सुझाव दिइएको छ । काटछाँट गरिसकेपछि बिरुवामा संक्रमण नहोस् भन्नका लागि बोडोपेस्ट र बोडो मिक्सचर लगाउन भनिएको छ। यसअघि यस्ता तालिमहरू सुर्खेतमा हुने गरेकामा यस पटक कृषि विकास कार्यालयको पहलमा जुम्लामै सञ्चालन गरिएको उल्लेख छ ।

जुम्लामा तालिम हुँदा १३ जना कृषि प्राविधिकहरू सहभागी हुन पाएका छन् । जसले अब जिल्लाका आठवटा स्थानीय तहका ३० वटा वडामा पुगेर किसानलाई प्रत्यक्ष रूपमा सीप हस्तान्तरण गर्ने काम भइरहेको छ । चन्दननाथ नगरपालिका–९ का कार्यवाहक वडाध्यक्ष विर्ष गिरीले किसानको बगैँचामै पुगेर ज्ञान सिकाउने यो अभियानको प्रशंसा गर्दै यसले स्याउको गुणस्तर सुधार्न मद्दत पुग्ने बताए ।

जिल्लामा चार हजार ४४५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यसै वर्ष मात्रै १७ हजार ६६५ मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।
कृषि विकास कार्यालयका अनुसार उच्च घनत्व जातको ५२ हेक्टरमा स्याउ खेती गरिएको छ । उच्च घनत्वको १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन भएको छ । यस वर्ष जुम्लाबाट ३१ करोड २९ लाख ८९ हजार २७० रूपैयाँको स्याउ निर्यात भएको थियो । यो अभियानले आगामी वर्षहरूमा जुम्ली स्याउको उत्पादन र बजार मूल्य दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार