वीरेन्द्रनगर ।
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा आठ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । कूल बजेटको १३.७४ प्रतिशत बजेट खर्च गर्दा पूँजीगत बजेट खर्च पनि न्यून छ । सरकारले चालू आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कूल बजेट ल्याएको थियो । जसमध्ये यो ६ महिनामा चार अर्ब ५३ करोड ३४ लाख ३३ हजार रूपैयाँ अर्थात् कूल बजेटको १३.७४ प्रतिशत खर्च भएको छ ।
चालूतर्फ करिब २४ प्रतिशत खर्च गरिएकोमा पूँजिगत खर्च भने करिब आठ प्रतिशत छ । चालूतर्फ १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रूपैयाँ विनियोजन भएकोमा हालसम्म दुई अर्ब ९५ करोड ४४ लाख ३० हजार अर्थात् २३.८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले पूँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रूपैयाँ विनियोजन गरेको थियो ।
त्यसमध्ये एक अर्ब ५७ करोड ९० लाख तीन हजार रूपैयाँ मात्रै कार्यान्वयन भएको छ । मन्त्रालयगत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय ६ महिनामा १०.७५ प्रतिशत खर्च गरेको छ भने ११ अर्ब एक करोड २१ लाख बजेट पाएको मन्त्रालयले एक अर्ब १८ करोड ४३ लाख रूपैयाँ मात्र खर्च गरेको छ ।
यता तीन अर्ब ८३ करोड बजेट पाएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले अहिलेसम्म ७.९७ प्रतिशत अर्थात् ३० करोड ५० लाख रूपैयाँमात्रै कार्यान्वयन गर्न सकेको छ भने सामाजिक विकास मन्त्रालयले पाँच अर्ब ७७ करोड ५६ लाखमध्ये एक अर्ब पाँच करोड ५२ लाख खर्चिएको छ ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ४२ करोड ७९ लाखमध्ये ३७ करोड चार लाख मात्रै खर्च गर्न सकेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २४ करोड १० लाख, आर्थिक मामिला मन्त्रालयले ६ करोड १५ लाख र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सात करोड ५८ लाख रूपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्